विद्यार्थीलाई शुल्क बुझाउन दिएको दबावबाट काठमाडौं विश्वविद्यालय पछि हटेको छ।
विश्वविद्यालयले भदौ १५ गतेभित्र शुल्क बुझाउन स्कुल अफ साइन्स र स्कुल अफ ईञ्जिनियरिङ स्नातक तहका विद्यार्थीलाई ताकेता गरेको थियो।
बुधबार स्कुल अफ साइन्सका डिन कन्हैया झा र स्कुल अफ ईञ्जिनियरिङका डिन डम्बरबहादुर नेपालीले कोर्ष रजिष्ट्रेशन फारमलगायतको शुल्क अर्को सूचना जारी नहुञ्जेलसम्म स्थगित गरेका हुन्।
‘स्कुल अफ साइन्स र स्कुल अफ ईञ्जिनियरिङको साउन ३२ मा प्रकाशित सूचनाअनुसार दुबै स्कुलका विद्यार्थीलाई कोर्ष रजिष्ट्रेशन फारम र आफूले तिर्न बाँकी रहेको शुल्क तिर्नुपर्ने सम्बन्धमा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरिएको विद्यार्थीलाई जानकारी गराइन्छ,’ विश्वविद्यालयले बुधबार निकालेको सूचनामा भनिएको छ।
विश्वविद्यालयको प्रशासनिक सेवासमेत पूर्ण रूपमा सञ्चालनमा नआएको र सम्बन्धित स्कुलका विभागीय प्रमुखको सुझाव र विद्यार्थीको छलफल तथा अनुरोधलाई ध्यानमा राखेर तत्काल शुल्क लिने निर्णय स्थगन गरिएको विश्वविद्यालयको भनाइ छ।
अनलाइन कक्षा सञ्चालन गरिरहेको विश्वविद्यालयले प्रयोग नै नगरेका सेवाको पनि शुल्क लिने गरी सूचना जारी गरेपछि विद्यार्थी संघसंगठनले विरोध गरेका थिए।
विश्वविद्यालयले विद्यार्थीका जायज माग सम्बोधन गरेको नेविसंघका इकाइ सचिव आशिष ढकालले बताए।
विद्यार्थीले प्रयोग नगरेका शीर्षकका शुल्क घटाउन विश्वविद्यालयले गठन गरेको समितिले छिटो प्रतिवेदन दिनुपर्ने पनि उनले बताए।