आफ्नै १३ वर्षीय सालोलाई अपहरण गरेर दश लाख फिरौती माग्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ निवासी २७ वर्षीय कल्लु भनिने कलिम खाँले आफ्नै सालो खजुरा गाउँपालिका वडा नं. ५ निवासी इशहाक जाकिर भनिने इन्तजार खाँलाई भदौ ९ गते बेलुका साढे ८ बजे अपहरण गरेर बन्दक बनाएका थिए।
इन्तजार गाउँमा मुहर्रमकाे रमाईलो हेर्न गएको मौका छोपेर कलिमले उनलाई अपहरण गरेका थिए। अपहरणपछि आफ्नै ससुरासँग दश लाख फिरौती माग्दै आएका थिए।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवाश खड्काका अनुसार कलिमले सालो इन्तजारलाई अपहरण पछि जयसपुरस्थित आफ्नो घर कोठामा बन्धक बनाई फोन सम्पर्कमार्फत १० लाखका लागि धम्काउँदै आएका थिए।
बालक इन्तजार अपहरण परेको र अपहरणकारीले दश लाख रुपैयाँ फिरौती माग्दै धम्काउने गरेको सूचना प्रहरीले पाएलगत्तै खोजतलास सुरु गरेको थियो।
प्रहरीले खोजी गरिरहेको सूचना पाएपछि कलिमले ११ गते सालोलाई जानकी गाउँपालिका वडा नं ५ बुढिया गाउँस्थित फुपुको घरमा लगेर छोडेका थिए। त्यहीँबाट प्रहरीले बालकको उद्धार गर्नुको साथै अपहरणकारी भनिएका कलिमलाई समेत नियन्त्रणमा लिएको डिएसपी खड्काले जानकारी दिए।
‘ससुराले जग्गा खरिद गर्नको लागि घरमा पैसा जम्मा गरेको थाहा पाएका ज्वाइँ कलिमले त्यही पैसा फुत्काउने उद्देश्यले अपहरण गरेको खुल्न आएको छ,’ डिएसपी खड्काले भने ‘ घटनाबारे थप अनुसन्धान भइरहेको छ।’
अपहरणमा प्रयोग भएको एउटा मोटरसाइकल र धम्काएर फिरौती माग्न प्रयोग भएको एउटा मोबाइल फोन पनि बरामद भएको डिएसपी खड्काले जानकारी दिएका छन् ।
मुलुकी संहिता ऐन २०७४ को परिच्छेद १७ को अपहरण वा शरीर बन्धक सम्वन्धी कसुरको दफा २१३ मा अपहरणकारीलाई ७ वर्षदेखि १० वर्ष कैद सजाए र ७० हजारदेखि १ लाखसम्म जरिवानाको व्यवस्था रहेको छ।