नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले कोरोना संक्रमणबाट मक्त भएकी एक किशोरीको शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका छन्।
संक्रमणमुक्त भई घर फर्केकी नमोबुद्ध नपा–५ को किशोरीको घरमै गई तिमल्सिनाले शुक्रबार स्नातकसम्मको शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका हुन्।
किशोरीको आर्थिक अवस्था कमजोर रहेको थाहा पाएपछि उनको शिक्षाको अभिभावकत्व ग्रहण गरेको तिमल्सिनाले बताए।
'चिकित्सक एवं स्वास्थ्यकर्मीलाई दुव्र्यवहार भइरहेका बेला कोरोना संक्रमितलाई दुव्र्यवहार हैन, हौसला प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले उनको अभिभावकत्व ग्रहण गरेको हुँ', उनले।
किशोरी हाल कक्षा १२ मा अध्ययनरत छिन्।
किशोरीको परिवारमा छ सदस्य छन्। परम्परागत रुपमा सामान्य खेतीपाती गर्दै आएको परिवारको आर्थिक अवस्था एकदमै कमजोर रहेको छ।
नगरप्रमुख तिमल्सिनाले आफ्नो घरसम्मै आएर हौसला प्रदान गरेकोमा संक्रमणमुक्त किशोरीले खुशी व्यक्त गरेकी छिन्।
उनले भनिन्, 'मेरो शिक्षाका लागि उहाँले अभिभावकत्व ग्रहण गर्नुले आफूलाई अझै अध्ययनमा हौसला मिलेको छ।'
किशोरीमा कोरोना संक्रमण देखिएपछि गत साउन ३१ गतेदेखि धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो। नमोबुद्ध नगरमा हालसम्म भएका छ संक्रमितमध्ये चार संक्रमणमुक्त भैसकेका छन् ।
नगर प्रमुख तिमल्सिनाले विगतदेखि नै व्यक्तिगत तर्फबाट विपन्न र जेहेन्दार विद्यार्थीको शिक्षाका लागि सहयोग गर्दै आएका छन्।
उनले आफ्नो जन्मदिनको अवसर पारेर गत बुधबारमात्रै एक लाखभन्दा बढी रकम विद्यार्थीको शिक्षाका लागि प्रदान गरेका थिए।
काभ्रेपलाञ्चोकमा हालसम्म २ सय १९ लाई कोरोना संक्रमण भएको छ।
यसमध्ये एक पुरुष र एक महिलाको मृत्यु भैसकेको छ भने ८१ उपचारपछि घर फर्किएको र १३६ विभिन्न स्थानको आइसोलेशनमा उपचाररत रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकले जनाएको छ।
(रासस)