सुनसरी सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हवल्दारको मृत्यु भएको छ।
मृत्यु हुनेमा सप्तरी बलान घर भएका संघीय प्रहरी इकाइ कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हबल्दार विजयकुमार मण्डल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए।
को १ प २११५ नंको मोटरसाइकलमा गस्तीमा निस्केका बेला बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो।
दुर्घटनामा परेका मण्डलको टाउकामा गम्भीर चोट लागेकामा उपचारका लागि विराटनगर लगिएको थियो।
उपचारका क्रममा मण्डलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। रासस