वालिङ नगरपालिका–५ मजकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चार घाइते भएका छन्।
वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट जाँदै गरेको बा२झ ४०११ नंको एम्बुलेन्स आज बिहान ५ बजे सडकदेखि अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा चापाकोट नगरपालिका–९ की २८ वर्षीया पवित्रा पोखरेल र ३५ वर्षीय भानुभक्त गैरे, चापाकोट–१० का २५ वर्षीय श्याम पङ्गेनी र एम्बुलेन्स चालक चापाकोट नगरपालिका–९ का ३१ वर्षीय सुरेन्द्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन्।
घाइतेहरुको गह्रौँ प्राथमिक अस्पताल वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये पवित्रा पोखरेल गर्भवती रहेको र काठमाडौँबाट घर आएको प्रहरीले जनाएको छ। चालक भण्डारीबाहेक अरू सबै गम्भीर छन् । घाइतेको टाउको र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।