कास्की प्रहरीले सरकारी छाप किर्ते मुद्दामा दोषी ठहरिएका तीन जना फरार प्रतिवादी पक्राउ गरेको छ।
पर्वतको मोदी गाउँपालिका–६ तिलाहर घर भई चाउथेमा व्यापार गर्ने निर्दोष गिरी, पोखरा महानगरपालिका–३३ का ऋषिराम गिरी र पोखराको हरिचोकका असिम भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुवास हमालले जानकारी दिए।
उनका अनुसार पक्राउ तीनै जना जिल्ला अदालतले २०७५ वैशाखमै दोषी ठहर गरे गरे पनि हालसम्म फरार थिए।
जिल्ला अदालतले उनीहरूलाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा एक वर्ष कैद सजाय सुनाएको थियो।
पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत पोखरामा पेस गरिएको प्रहरीले जनाएको छ।
(रासस)