तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैंकमा कार्यरत श्रीमान् श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
भानु नगरपालिकामा आइतबार थपिएका २२ कोरोना संक्रमितमध्ये उनीहरू पनि छन्।
गरिमा विकास बैंकमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैंकमा कार्यरत श्रीमान्मा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैंक तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।
'बन्दीपुरस्थित बैंकमा काम गर्ने श्रीमान् श्रीमतीलाई कोरोना संक्रमित भएको अबेर मात्रै थाहा पायौँ', थापाले भने, 'सम्बन्धित दुवै बैंकलाई एक हप्ताका लागि कार्यालय बन्द गर्न भनेका छौँ।'
यस विषयमा छलफल गर्न आज आकस्मिक बैठक डाकिएको र उक्त बैठकले थप निर्णय गर्ने थापाले बताए।
भानु–६ निवासी २३ वर्षीय ग्लोबल आईएमई बैंक र २५ वर्षीया गरिमा विकास बैंकमा कार्यरत छन्।
'बन्दीपुर गाउँपालिकामा एक हप्तादेखि जारी निषेधाज्ञा आइतबार खुले पनि दुवै जना बैंकमा भने आउनुभएको थिएन। तर पनि उहाँहरूको बैंकमा कार्यरत अन्य कर्मचारीको पनि स्वाब सङ्कलन गर्ने तयारी गरेका छौँ, रिपोर्ट नआइन्जेल बैंक बन्द गर्न भनेका छौँ', अध्यक्ष थापाले भने।
(रासस)