सल्यानमा एक निजी विद्यालयका फाउन्डर तथा शिक्षकबाट बलात्कारमा परेकी भनिएकी एक किशोरी केही दिन यता सम्पर्कविहीन भएकी छन्।
जिल्लाको बागचौर निवासी अन्दाजी १४-१५ वर्षकी ती किशोरी भदौ १२ गते घरबाट नै सम्पर्कविहीन भएको प्रहरीले जानकारी दिएको छ।
केही समय पहिला मात्रै बागचौरस्थित ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुलका फाउन्डर तथा शिक्षक ३१ वर्षीय रामचन्द्र केसीले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारेर पटक-पटक बलात्कार गर्दै आएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्।
पीडित किशोरीले साउन ८ गते इलाका प्रहरी कार्यालय थारमारेमा पुगेर केसीले आफुलाई विभिन्न प्रलोभनमा पारेर पटकपटक बलात्कार गर्दै आएको जाहेरी दिएको जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले सेतोपाटीलाई बताए।
‘प्रहरीमा जाहेरी परे लगतै आरोपित फरार भएको भन्ने छ,’ डिएसपी खतिवडाले भने ‘अहिले फेरि किशोरीका बाबुले छोरी अपहरणमा परेको भन्ने कुरा गरिरहनु भएको छ। त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।’
पीडित किशोरीका अभिभावकले भदौ १२ गते बेलुका करिब ८ बजेतिर खाना खाएर कोठामा गएकी आफ्नी छोरी त्यसयता सम्पर्कविहीन भएकोले अपहरण भएको हुनसक्ने भन्दै खोजी कार्यमा सहयोग गरिदिन प्रहरीमा निवेदन दिएको प्रहरीले जनाएको छ।
पीडकले मुद्दालाई प्रभावित तुल्याउन ती किशोरीको अपहरण गरेको हुनसक्ने आशंका गरिएको छ।
डिएसपी खतिवडाले बेपत्ता किशोरीका साथै बलात्कारको अभियोग खेपेका बोर्डिङका शिक्षकको समेत खोजी कार्य तीव्र पारिएको जानकारी दिए।
‘किशोरी घरबाटै बेपत्ता भएको भनिएको हुँदा सम्भावित सबै ठाउँहरूमा खोज्ने काम भैरहेको छ,’ डिएसपी खतिवडाले भने ‘अहिले आएर केटीको बुवाले छिमेकीले नै आरोपित शिक्षकसंगै आफ्नी छोरी भगाउन भूमिका खेलेको भन्ने ढंगले कुरा गर्ने गरेको भन्ने कुरापनि सुन्नमा आएको छ।’
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।