काभ्रेपलाञ्चोकका सात स्थानीय तह हाल कोरोनामुक्त छन्।
सात गाउँपालिका कोरोनामुक्त अवस्थामा छन्।
जिल्लाका १३ स्थानीय तहमध्ये मण्डन देउपुर नगरपालिका तथा रोशी, बेथानचोक, तेमाल, महाभारत, खानीखोला र चौंरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन्।
कूल संक्रमितमध्ये सबैभन्दा बढी ४३ प्रतिशत सक्रिय संक्रमित बनेपा नगरमा तथा सबैभन्दा कम नमोबुद्ध नगरमा एक पुरुष मात्रै रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ।
पोष्टका अनुसार काभ्रेपलाञ्चोकमा हालसम्म १८२ पुरुष र ११२ महिला संक्रमित भएका छन्।
सक्रिय संक्रमितमध्ये बनेपामा १२८, धुलिखेल नगरमा ३२, पनौतीमा चार, पाँचखालमा चार, नमोबुद्धमा एक, तथा भुम्लु गाउँपालिकामा दुई रहेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वासथ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए।
उनका अनुसार १११ संक्रमित निको भई उपचारपछि घर फर्किएका छन् भने १७९ विभिन्न अस्पतालको आइसोलेशनमा उपचाररत छन्।
त्यस्तै ३१ जना होम आइसोलेशनमै उपचाररत रहेको पोष्टले जनाएको छ।
काभ्रेमा कोरोना संक्रमणबाट एक पुरष र एक महिलाको मृत्यु भएको छ।
गत असार दुईगतेदेखि काभ्रेलीमा संक्रमण देखापरेको थियो। झाका अनुसार पछिल्लो समय समुदायमा संक्रमण फैलिएकाले संक्रमित दर बढिरहेको हो।
'भदौ महिनाको तथ्याङ्कले जिल्लामा सरदर दैनिक १० देखि १५ संक्रमित देखिन्छ', उनले भने। संक्रमितमध्ये अधिकांशको ‘ट्राभल हिष्ट्री’ नदेखिएको पोष्टले जनाएको छ।
झाका अनुसार बनेपा नगरपालिका–१३ भैंसेपाटीस्थित स्पाईनल इन्जूरी अस्पतालमा मात्रै जिल्लाको कूल कोरोना संक्रमितमध्ये ४१ प्रतिशत संक्रमित छन्।
उक्त अस्पतालमा संक्रमण नियन्त्रणका लागि सातादेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ भने अस्पताल र स्थानीय समुदायमा कोरोना संक्रमण नियन्त्रणका लागि सार्वजनिक रुपमा सहयोगको अपिल गरिएको छ।
नयाँ संक्रमित देखिएलगत्तै ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने र स्वाब सङ्कलन गरी रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा राख्ने गरिएको झाले बताउनुभयो । उहाँले भन्नुभयो “संक्रमितको सम्पर्कमा आएकाहरु स्वतःस्फूर्त पिसिआर परीक्षणको दायरामा आए कोरोना संक्रमण नियन्त्रणमा निकै सहज हुने थियो ।” उनका अनुसार ‘कन्ट्याक्ट ट्रेसिङ’मा जनप्रतिनिधिको भूमिका निकै उत्साहपूर्ण छ ।
जिल्लास्थित १३ स्थानीय तहमा ९०३ श्याको क्वारेन्टिन तथा २०९ बेडको आइसोलेशन व्यवस्थित गरिएको छ । हाल ३० पुरुष र ३५ महिला स्थानीय तहको क्वारेन्टिनमा बसेका छन्् । त्यस्तै ९९९ पुरुष र २०९ महिला क्वारेन्टिनको बसाइँपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएको तथा फर्कने क्रम जारी रहेको पोष्टले जनाएको छ ।
(रासस)