बाँकेमा आइतबार बेलुका एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ निवासी ५९ वर्षीय पुरुषको नेपागञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा आइतबार बेलुका साढे ८ बजे मृत्यु भएको हो।
जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी मधुमेह र मुटु रोगी पनि थिए। उनी भदौ १२ गते स्वास्थ्यमा समस्या आएपछि अस्पताल आएका थिए। आशंका लागेर स्वाब परीक्षण गर्दा भदौ १५ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसपछि उनी आफ्नै खर्चमा न्यू इन्द्रेणी होटलको आइसोलेसनमा बस्दै आएका थिए।
श्रेष्ठका अनुसार उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भदौ १८ गते दिउँसो नेपागञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि सारिएको थियो। अवस्थामा सुधार नआएपछि आइतबार बेलुका साढे ८ बजे उपचारका क्रममा उनको मृत्यु भएको श्रेष्ठले जानकारी दिए।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।