गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुघाट बजार नजिकै कुकुरले टोकेर मारेको अवस्थामा चितुवा फेला परेको छ।
गोरखातर्फको आरुघाट बजारबाट धादिङतर्फको आरुघाट बजार जाने कच्ची सडकखण्डमा मृतावस्थामा चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए।
करिब ६ महिनाको जस्तो देखिने चितुवालाई कुकुरहरुले टोकेर मारेको पाइएको अनुसन्धानका लागि घटनास्थल पुगेका कार्यालय सहायक वन अधिकृत बालकुमार नेपालीले जानकारी दिए।
‘घटनास्थलमा भेटिएको मृत चितुवाको आन्द्राभुँडीसमेत निस्किएको अवस्थामा फेला परेको छ। चितुवालाई आक्रमण गर्ने दुई वटा कुकुर गम्भीर घाइते भएका रहेछन्’ उनले भने।
जङ्गल नजिकै रहेकाले आहाराको खोजीमा निस्किएको सानो चितुवाले कुकुरलाई आक्रमण गरेपछि कुकुरहरु मिलेर चितुवालाई चिथोरेर मारेको हुन सक्ने सहायक वन अधिकृत नेपालीले जानकारी दिए।
चार वयस्क कुकुर मिलेर आक्रमण गरेका कारण सानो उमेरको चितुवा मारिएको उनले बताए।
स्थानीयवासीले राति नै थाहा पाएपछि घटनास्थलमा पुग्दा चितुवा मरेको देखेर वन कार्यालयमा जानकारी गराएका थिए।
वन कार्यालयको टोलीसहित प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको रोहवरमा मृतावस्थामा भेटिएको चितुवाको मुचुल्का तयार गरी सब डिभिजन वन कार्यालय घ्याम्पेसाल परिसरमा व्यवस्थापन गरिएको सहायक वन अधिकृत नेपालीले जानकारी दिए।
(रासस)