बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ निवासी ४५ वर्षीय पुरूषको भेरी अस्पतालमा बिहीबार बेलुका सवा ५ बजे मृत्यु भएको छ।
बाँके जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ती व्यक्तिमा बुधबार बेलुकामात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। दुबै फोक्सोमा निमोनिया भएर उनको मृत्यु भएको श्रेष्ठले बताए।
स्वास्थ्यमा समस्या उत्पन्न भएपछि ती व्यक्तिलाई भदौ २९ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए।
आशंका लागेपछि उनको पिसिआर परीक्षणका लागि भदौ ३० गते बिहान स्वाब संकलन गरिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए।
ती व्यक्तिको स्वास्थ्यमा थप समस्या देखिएपछि र भेन्टिलेटर सहितको उपचारको आवश्यकता परेको हुँदा भदौ ३१ गते राति ११: ४५ बजेमात्रै भेरी अस्पतालमा पठाइएको थियो।
योसँगै बाँकेमा कोरोना संक्रमित ९ जनाको मृत्यु भएको छ।