रोल्पा जिल्लाको एक विद्यालयले विद्यार्थी बोलाएर पठनपाठन थालेको छ।
जिल्लाको माडी गाउँपालिका वडा नं. ६ स्थित शिद्धकैलाश माविले असोज १ गतेदेखि विद्यालय सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक शुबबहादुर बुढाले जानकारी दिए।
‘हामीले असोज १ गतेदेखि नै विद्यालयमा विद्यार्थी बोलाएर पढाउन सुरु गरेका हौं,’ बुढाले भने ‘आज शुक्रबार पनि पढाई भयो।’
विद्यालय असोज १ गतेदेखि नै सञ्चालनमा आएको भएपनि अनौपचारिक रुपमा पढाउने गरिएको बुढाले बताए। ‘विद्यार्थी यूनिफर्म नलगाई आइरहेका छन्,’ बुढाले भने ‘ भिडभाड नहोस् भनेर सिफ्ट÷सिफ्टमा पढाउन सुरु गरेका छौं।’
बिहान ९ बजेदेखि नै विद्यालय सञ्चालन गरिएको र बेलुका ४ बजेसम्म पढाउने गरेको उनले जानकारी दिए ।
प्रअ बुढाका अनुसार शिद्धकैलाश मावि दुई ठाउँमा सञ्चालित छ। कोर्चावाङमा कक्षा १देखि ५ सम्म पढाई हुन्छ । जहाँ १०० को हाराहारीमा विद्यार्थी पढ्न आउँछन्।
त्यस्तै मिनाहीमा कक्षा ६ देखि १० सम्म पढाई हुन्छ। त्यहाँ झन्डै १५० जति विद्यार्थी पढ्न आउन थालेका छन्।
प्रावि तहका विद्यार्थीलाई एउटा बेञ्चमा दुई जना मात्रै राखेर पढाइएको भए पनि माविका विद्यार्थीको हकमा एउटा बेञ्चमा तीन जनासम्म राखेर पढाउने गरिएको छ।
विद्यालय सञ्चालन भएको पहिलो दिनमा सबै विद्यार्थीलाई विद्यालयले नै एक/एक वटा सर्जिकल मास्क पनि वितरण गरेको प्रअ बुढाले जानकारी दिए।
विद्यालयमा प्रशस्त पानी रहेको र आफूहरुले हात धुनलाई सावुनको व्यवस्था गरिदिएको उनले बताए।
यसअघि पनि शिद्धकैलाश माबिले डेढ महिना टोल टोलमा शिक्षक पठाएर विद्यार्थी पढाएको थियो। त्यसरी पढाउँदा दिनभर एउटै विषयको शिक्षकले पढाउँथे। तर, १ देखि ५ कक्षाका विद्यार्थीका लागि मात्रै थियो । ‘हामीले असार ११ गतेदेखि टोल÷टोलमा शिक्षक खटाएर पढाउन पठाएका थियौं,’ प्रअ बुढाले भने ‘डेढ महिनापछि स्थानीय प्रशासनले त्योपनि रोकिदियो।’
टोलमा पढाउने शिक्षकले पढाएवापत विद्यर्थीबाट शुल्क लिएनन्। ‘टोलकै शिक्षकले टोलमा पढाउँथे,’ बुढाले भने ‘आफ्ना विद्यार्थीलाई मात्रै शिक्षकले जुनसुकै विद्यालयका भएपनि टोल भरिका विद्यार्थी पढाउँथे।’ अरु विद्यालयका शिक्षकसँग पनि त्यही सहमति भएको थियो।
‘रोल्पा जस्तो विकट जिल्लामा अनलाइन कक्षा सञ्चालन गर्न संभव थिएन,’ बुढाले भने ‘भाषा लगायतका समस्याले गर्दा रेडियोबाट पढाएको बच्चाले बुझ्दैनथे। त्यही भएर हामीले टोल शिक्षा सुरु गरेका थियौं।’
गाउँपालिकाको सहयोगमा विद्यार्थीका लागि आवश्यक किताव जेठ महिनामै आइसकेको हुँदा पढाउन सहज भएको उनले बताए।
माडी गाउँपालिकामा हालसम्म एक जनापनि कोरोना संक्रमित फेला परेका छैनन्। त्यही भएर गाउँपालिकाले भदौ अन्तिम साता नै विद्यालय सञ्चानल गर्न आग्रह गरिसकेको थियो। शिक्षा मन्त्रालयको निर्देशिकामा पनि प्रत्यक्ष रुपमा पढाउन सकिने स्थानमा विद्यालय सञ्चालन गर्न सक्ने कुरा उल्लेख छ।
भदौ १९ गते बसेको मन्त्रिपरिषद्को निर्णय र निर्देशिका बमोजिम गाउँ शिक्षा समितिको बैठकले असोज १ बाट विद्यालय खोल्ने निर्णय गरेको थियो।
त्यसैलाई टेक्दै आफूहरुले विद्यालय सञ्चालन गरेको बुढाले बताए ।
विद्यालयमा सबै शिक्षक र ९० प्रतिशत विद्यार्थी उपस्थित भएको उनले जानकारी दिए। विद्यालयमा कुल १७ शिक्षक रहेको र त्यसमध्ये १० जना माविमा र अन्य ७ जना सबै प्रावि तहमा पढाउनका लागि उपस्थित भइसकेको बुढाले जानकारी दिए।
विद्यालय सञ्चालन हुँदा विद्यार्थी र शिक्षक निकै उत्साहित बनेको उनले बताए। ‘ विद्यार्थी यति खुसी छन् कि त्यो शव्दमा व्यक्त गर्न संभव छैन,’ बुढाले फोनमा भने ‘अन्यौलता चिर्दै हामीले विद्यालय खोलेर ठिकै गर्यौं भन्ने लागेको छ।’
शिक्षा मन्त्रालयले नै कोर्ष घटाउने कुरा गरिहेको बताएका उनले रातदिन मेहनत गरेर भएपनि शैक्षिक सत्र खेर जान दिन नदिने पक्षमा आफूहरु रहने धारणा व्यक्त गरे।
‘आगामी मंसिरमा अर्ध वार्षिक परीक्षा र चैतमा वार्षिक परीक्षा भएछ भने पनि हामीले विद्यार्थी तयार पारिसक्ने उद्देश्यमा छौं,’ बुढाले भने। गाउँपालिकामा ३३ वटा समुदायिक विद्यालय तथा २ वटा संस्थागत विद्यालयहरु छन्। विद्यालय सञ्चालनमा आएपछि लामो समयदेखि विद्यालय जानबाट वञ्चित बालबालिका उत्साहित बनेको उनले बताए।
त्यस्तै रोल्पाको लिवाङस्थित बालकल्याण नमुना माविले पनि एक हप्ता दिनदेखि विद्यार्थी पढाउन थालेको छ। विद्यालयका प्रधानाध्यापक मधुसुधन पोखरेलका अनुसार कक्षा ८ देखि १० कक्षा सम्मका विद्यार्थीलाई एक हप्ता दिनदेखि टोल शिक्षा कार्यक्रम सुरु भएको छ।
एक ठाउँमा १५ जना विद्यार्थी राखेर भौतिक दुरी कायम गरी पढाउन सुरु गरेको उनले बताए। विगत लामो समयदेखि विद्यालय नखुल्दा र पढाई नहुँदा निराश भएका बालबालिका पढ्न पाउँदा खुसी भएको उनले प्रतिक्रिया दिए।
उनले सबै सुरक्षा विधि अपनाएर मात्रै टोल शिक्षा कार्यक्रम सुरु गरिएको बताए।
रोल्पाको लिवाङ आसपासका क्षेत्रमा मात्रै हालसम्म १० जना कोरोना संक्रमित फेला परेका छन्। भदौ अन्तिममा रोल्पाकै होलेरी क्षेत्रमा ८ जना संक्रमित फेला परेपछि त्यहाँ भने निषेधाज्ञा जारी गरिएको छ।