सामुहिक बलात्कार मुद्दामा दोषी ठहर भइ अदालतबाट दश वर्ष कैद फैसला तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्लाको राप्ती गाउँपालिका वडा नं. ३ मसुरिया निवासी २८ वर्षीय अनिल घर्तीलाई प्रहरीले शुक्रबार विहान पक्राउ गरेको हो ।
सामुहिक बलात्कार मुद्दामा घर्तीलाई सर्वोच्च अदालतले २०७३ साल असोज २७ गते दोषी ठहर गर्दै दश वर्ष १९ दिनको कैद फैसला सुनाएको थियो।
सर्वोच्चको फैसला लगतै घर्ती फरार भएका थिए।
फरार प्रतिवादी खोजी गर्दै जाने क्रममा घर्तीलाई राप्ती गाउँपालिकाको वडा नं. ३ स्थित पाखापानी भन्ने ठाउँमा लुकिछिपी बस्दै आएको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए।
‘फरार प्रतिवादी घर्ती लुकिछिपी बस्दै आएको भन्ने गोप्य सूचनाको आधारमा शुक्रबार विहान साढे ६ बजेतिर पुगेको प्रहरीले उनलाई पक्राउ गरेको,’ डिएसपी खड्काले भने ‘घर्तीलाई शुक्रबार नै दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराइएपछि अदालतको आदेशमा जेल चलान गरिएको छ।’
दुई महिना थप १६ फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी प्रवक्ता खड्काले बितेको दुई महिनाको अवधिमा थप १६ जना फरार प्रतिवादी पक्राउ गरेको जानकारी दिएको छ।
‘साउन यता मात्रै अदालतवाट अपराधी ठहर भइ फरार रहेका १७ जना प्रतिवादीलाई पक्राउ गरेर तोकिएको सजाय भुक्तान गर्नका लागि पठाइएको छ,’ खड्काले भने ‘जसमा कर्तव्य ज्यान, जवरजस्ती करणी आदिमा फरार प्रतिवादी पक्राउ परेका छन्।’
डिएसपी खड्काका अनुसार कर्तव्य ज्यान मुद्दाका शान्तुराम चौधरी, पुण्यप्रशाद चौधरी, विनोद विक, नरेश बुढाथोकी, सुरेश नेपाली पक्राउ परेका छन् ।
त्यस्तै जवरजस्ती करणी मुद्दमा अदालतले दोषी ठहर गरेका अनिल घर्ती, सन्दिप चौधरी, शरद सिलवाललाई पक्राउ गरिएको खड्काले बताए।
यी बाहेक बाँकी ठगी, चोरी लगायत विभिन्न अपराधमा संलग्न व्यक्तिहरूले रहेको उनले बताए।