जिल्ला प्रहरी कार्यालय तनहुँले आफ्नै बाबुलाई कर्तव्य गरी मारेर गाडेको घटनाको अनुसन्धान थालेको छ।
आँबुखैरेनी गाउँपालिका–४ खस्राङ बस्ने ४१ वर्षीय राजकुमार गुरुङलाई निजकै छोरा २१ वर्षीय वीरमानले कर्तव्य गरी मारेकाले निजलाई ज्यान मुद्दामा अनुसन्धान थालिएको हो।
बाबुको हत्यापछि जातीय रीतिरिवाजअनुरुप चिहान खनी पुरेर दाहसंस्कार गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएपछि स्थानीयवासीको रोहवरमा उक्त शव सुरक्षित साथ उत्खनन गरिएको थियो।
छोराले गत भदौ ३१ गते आफ्नै घरमा कर्तव्य गरी बाबुको हत्या गरेको र शव उत्खनन गरी शवजाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान पूरा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।
शव परीक्षणका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा) पठाइएको प्रहरीले जनाएको छ।
अभियुक्तलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भइरहेको बताइएको छ।
फरार मुद्दाका २५ जना पक्राउ
जिल्ला प्रहरी कार्यालयले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका २५ जनालाई आज पक्राउ गरेको छ ।
जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फी र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।