बाँकेमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं. ४ सहारे निवासी ५८ वर्षीय पुरुषको सोमबार विहान मृत्यु भएको हो।
मृतक ज्यान मुद्धाका बन्दी हुन्। उनलाई उपचारका लागि सुर्खेतबाट बाँके कारागार हुँदै अस्पताल पुर्याइएको थियो।
स्वास्थ्यमा समस्या भएपछि भदौ २२ गते भेरी अस्पतालको कोरोना आइसोलेसनमा भर्ना गरिएको थियो।
त्यसअघि उनलाई सामान्य वार्डमा राखेर उपचार गरिदैं आइएको थियो।
बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार पिसिआर परीक्षणका क्रममा उनलाई भदौ २१ गते राति १० बजेतिर कोरोना पुष्टि भएको थियो।
दमको विरामी रहेका उनको स्वास प्रश्वासमा गम्भीर समस्या उत्पन्न भएपछि सोमबार विहान ६ : २५ बजे मृत्यु भएको फोकल पर्सन श्रेष्ठले सेतोपाटीलाई बताए।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ भएको छ।
त्यसमध्ये ४ जना बाहिरी जिल्लाका रहेको फोकल पर्सन श्रेष्ठले बताए।
त्यो बाहेक अछाम,कैलाली, अर्घाखाँची र सुर्खेत जिल्लाका संक्रमितको मृत्यु भएको श्रेष्ठले जानकारी दिए।
बाँकेका ७ जना संक्रमितको मृत्यु भएको छ।