मंगलबार दिउँसो १ बजे लक्ष्मीपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयमा भर्खर विद्यार्थी घरबाट आएका थिए।
अघिपछि यो समय ‘टिफिन टाइम’ हुन्थ्यो। विद्यार्थी खाजा खाइरहेका हुन्थे होला। अहिले परिस्थिति अलि फरक छ। ६ महिना लामो कोरोनाको कहरकाबीच विद्यालय खुल्न थालेका छन्। पूर्ण रुपमा कहिले खुल्छन् भन्न सक्ने अवस्था छैन।
विद्यालयमा भेटिएका विद्यार्थी पनि केही सचेत देखिन्थे। आपसमा हात मिलाइरहेका थिएनन्। अघिपछि जस्तो आपसमा अंकमाल पनि गरेको देखिँदैनथ्यो। बरु उनीहरु भौतिक दुरी कायम गरेर हिँडिरहेका थिए।
विद्यालयको गेटभित्र प्रवेश गर्दा पनि उनीहरु सजग देखिन्थे। विद्यालय गेटभित्र प्रवेश गर्नासाथ प्लाष्टिकको ट्यांकी राखिएको थियो, त्यसको बगलमा साबुन पनि राखिएका थिए।
विद्यार्थी लाइनमा बसेर पालैपालो हात धोएर मात्रै कक्षा कोठामा प्रवेश गरे।
विद्यालयका प्रधानाध्यापक प्रकाश खड्काका अनुसार बिहान र दिउँसो गरेर दुई सिफ्टमा विद्यालय सञ्चालन भइरहेको छ। ‘विहान ८ बजेदेखि १० बजेसम्म र दिउँसो १ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गरेका छौं,’ खड्काले भने ‘ सकभर एउटा बेञ्चमा एउटा मात्रै विद्यार्थी बसाल्छौं र सबैले अनिवार्य मास्क लगाउँछौं।’
तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ भोजपुरस्थित बालमितेरी माविले विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सिफ्ट मिलाएर पढाउन सुरु गरेको छ।
प्रधानाध्यापक ओमप्रकाश वलीका अनुसार बिहान ६,७ र ८ कक्षाको पढाई हुन्छ। दिउँसो शिशुदेखि ५ कक्षाको पढाई हुन्छ। अन्तिमा बेलुकी पख ९ र १० कक्षाको पढाई गर्न थालिएको छ।
विद्यार्थीको संख्या धेरै हुँदा तीन सिफ्टमा कक्षा सञ्चालन गर्नु परेको वलीले बताए। उनले एउटा कक्षालाई तीन सेक्सनमा बाँडेर दैनिक बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पढाउन थालेको बताए।
तर, सबैतिर यस्तो व्यवस्था छैन। बालचेतना आधारभूत विद्यालयमा भने एक सिफ्ट मात्रै सञ्चालन गरिएको छ। प्रधानाध्यापक देविराम वस्नेतले विद्यार्थीको संख्या थपिँदै जान थालेपछि दुई सिफ्टमा कक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।
विद्यालय सञ्चालन गर्दा आवश्यक पर्ने विभिन्न सामग्रीको व्यवस्थापन वडा नम्बर १५ ले गरिदिएको छ। वडाध्यक्ष लक्ष्मण चौधरीले आवश्यक स्वास्थ्य सामाग्री सहित सावधानी पूर्वक विद्यालय सञ्चालन गर्न आग्रह गरिएको बताए।
तुलसीपुर क्षेत्रमा अधिकाँश विद्यालय ग्रामिण क्षेत्रमा मात्रै सञ्चालनमा आएका छन्। एउटा कक्षा कोठामा १५ जना विद्यार्थी राखेर पढाउन थालिएको छ। यसरी पढाउँदा विद्यार्थी र शिक्षकलाई मास्क अनिवार्य गरिएको छ। मास्क नलगाई आउने विद्यार्थीलाई विद्यालयमै मास्कको व्यवस्थापन समेत गरिएको छ।
तुलसीपुर शिक्षा महाशाखाका प्रमुख भास्कर गौतमले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै शिक्षण संस्था खोल्न थालिएको जानकारी दिए। सात वटा मापदण्ड तयार पारेर शिक्षण संस्था खोल्न दिने निर्णय भएको उनले बताए।
घोराहीमा पनि विद्यालयहरु फाट्टफुट्ट सञ्चालनमा आउन थालेका छन्। घोराही उपमहानगर शिक्षा महाशाखा, सामुदायिक विद्यालय र संस्थागत विद्यालयको छलफलबाट पठनपाठन संचालन गर्ने निर्णय भएसँगै विद्यालय सञ्चालनमा आउन थालेका हुन्।
घोराही उपमहानगर शिक्षा महाशाखा प्रमुख विनोद घिमिरेले विद्यालय सञ्चालनका लागि सातवटा मापदण्ड तयार पारिएको जानकारी दिए। ‘पूर्ण सुरक्षा सतर्कता अपनाएर विद्यालयलाई सिकाइ केन्द्रका रूपमा सञ्चालन गर्न भनिएको छ’ घिमिरेले सेतोपाटीसँ भने ‘मापदण्ड पूरा नगरी विद्यालय सञ्चालन गर्न पाइँदैन।’
लामो समयदेखि बन्दाबन्दीका कारण ठप्प रहेका घोराही उपमहानगरपालिका क्षेत्रका विद्यालयहरु सञ्चालन हुने भएपछि धमाधम विद्यार्थी भर्ना थालेको नीजि विद्यालयहरुको छाता संगठन प्याब्सन दाङका अध्यक्ष विरेन्द्र चन्दले जानकारी दिए। ‘विद्यार्थी धेरै आत्तिएका रहेछन्,’ चन्दले भने ‘धमाधम विद्यालय आउन थालेका छन् र हामीले सजगता अपनाएर मात्रै आउन भनेका छौं।’
शैक्षिक सत्र २०७७ को लागि गत वर्षकै शुल्क कायम राख्न पनि नगर महाशाखाले नीजि विद्यालयलाई निर्देशन गरेको छ। असोज महिनादेखि मासिक शुल्क लिने, ४ कक्षादेखि माथिका विद्यार्थीलाई विद्यालय बोलाउने, प्रति बेन्च १ जना मात्र राख्ने, असोज ५ गतेसम्म शिक्षा महाशाखामा कार्य योजना पेश गरी कक्षा सञ्चालनको सहमति लिनु पर्नेछ।
तर सर्वसाधारण अभिभावक भने अझैं पनि निश्चिन्त हुन सकेका छैनन्। ‘यस्तो डरलाग्दो समयमा कसरी पढ्न पठाउने हो,’ तुलसीपुरका एक अभिभावक रामु चौधरीले भने ‘ पढ्न पठाम् कोरोना सर्ला भन्न डर छ, नपठाम पढाई छुट्ला भन्ने चिन्ता छ।’
चौधरीले के गर्ने नगर्ने भन्ने बारेमा आफू अन्यौलमा रहेको बताए। त्यस्तै उनले अब चाडपर्व आउन लागेकाले फेरि लामो विदा हुने र शुल्क मात्रै तिर्नुपर्ने अवस्था आउँछ कि भन्ने चिन्ता पनि व्यक्त गरे।
‘अघिपछि जस्तै दशैं तिहारको एकैसाथ एक महिना बढी विद्यालय विदा हुने हो भने त बेकारमा पैसा तिर्न मात्रै किन पठाउने हो र,’ चौधरीले भने ‘ आधा वर्ष घर्किसकेको समयमा विद्यालयहरु अब चाडपर्व विदा गर्नु हुन्न।’
तुलसीपुर १९ का एक अभिभावक विनोद बस्नेतले पनि अझै ढुक्क हुने अवस्था नरहेको बताए। ‘सावधानी अपनाएर विद्यालय संचालन गरेपनि कसरी ढुक्क हुन सकिन्छ,’ उनले भने ‘ कोरोना भाइरस संक्रमण दर न्युन रहेको समयमा बन्द गर्ने तर अहिले उच्च रहेको समयमा विद्यालय सञ्चालन गर्नु उचित होइन।’
सहरी क्षेत्रमा कतिपय विद्यालयले वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गरिरहे पनि त्यसको प्रभावकारितामा समेत कतिपय अभिभावकले प्रश्न उठाएका छन्।
‘अनलाइन शिक्षा पैसा असुल्ने खेल मात्रै भइरहेको छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक अभिभावकले भने ‘ मेरो बच्चाले त्यसरी पढाएको केही बुझ्दैन भन्छ र घरमा पनि पढ्दै पढ्दैन भने त्यो अनलाइन शिक्षाको के अर्थ भो?’
नीजि विद्यालयले अनलाइन शिक्षाको नाममा पैसा असुल्ने मात्रै गरेको उनले आरोप लगाए।
तुलसीपुरमा अनुगमन
विद्यालय सञ्चालनको अवस्थाका बारेमा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले अनुगमन समेत थालेको छ।
शिक्षा समितिका संयोजक देवराज विकसहितको टोलीले विद्यालयमा भइरहेको पठन पाठन बारे अनुगमन गर्न थालेको छ। अनुगमनका क्रममा कक्षा सञ्चालनमा केही समस्या देखिएपछि त्यो सुधार्न सल्लाह दिइएको विकले बताए।
‘केही संस्थागत विद्यालयमा निर्देशिकाको पालना नगरेको पनि पाइयो,’ विकले भने ‘हामीले तत्काल ती विद्यालयलाई सुधार नगरे बन्द गर्ने चेतावनी समेत दिएका छौं।’
तर उनले अधिकांश विद्यालय तोकिएको मापदण्डमा रहेर सञ्चालन भएको संयोजक विश्वकर्माले जानकारी दिए।
अनुगमनमा क्रममा शिक्षा महाशाखाका अधिकृत चक्र भण्डारी र विद्यालय निरीक्षक मानबहादुर खड्काले विद्यार्थीलाई नियमित हात धुनुपर्ने, मास्क लगाउनुपर्ने र भौतिक दूरी कायम गर्न सुझाव दिएका थिए।