दुई वर्षअघि गरिएको कालोपत्रे अहिले हराइसकेको छ।
दर्जनौं मोड र घुम्तीहरू हिल्लाम्मे छन्। ठाउँ-ठाउँमा पहिरो झरेको छ।
दाङको घोराही र रोल्पाको होलेरी जोड्ने साढे ३१ किलोमिटर सडक ४६ करोड खर्चेर निर्माण गरिएको थियो। कति ठाउँमा मोटर गाडीलाई उकालो चढ्न मुस्लिक पर्छ। बसहरू ठाउँ-ठाउँमा यात्रु झार्दै यात्रा गराउँछन्।
मोटरसाइकल लगायत साना सवारी चलाउन ज्यानकै बाजी थाप्नु पर्ने अवस्था छ।
‘ज्यानै माया मारेर यात्रा गर्नुपर्ने अवस्था छ,’ होलेरीका पत्रकार नन्दराम खड्काले भने, ‘सहिद मार्गको यात्रा भगवान भरोसा छ। सडकमा कालोपत्रे कतै पनि बाँकी छैन।'
रोल्पाको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले पनि साढे ३१ किलोमिटर सडकमा कालोपत्रे बिरलै देखिने बताए।
'घोराही र होलेरीको लाइफलाइन नै अवरूद्ध हुने अवस्थामा पुगेको छ,' उनले भने।
सडकका खाल्डाखुल्डीले यात्रा गर्नै नसक्ने अवस्था उत्पन्न भएपछि रोल्पाको होलेरीमा भदौ २ गते जनप्रनिधिसहित दाङ र रोल्पाका सरोकारवालको बैठक बस्यो।
दाङ र रोल्पाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सडका प्रतिनिधिको बीचमा बैठक भएको रोल्पाको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले बताए।
त्यो बैठकमा प्रदेश नं. ५ का कानुन मन्त्री कुलप्रशाद केसी (सोनाम) पनि थिए। दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सडकका प्रतिनिधिहरू पनि बैठकमा थिए।
यात्रा गर्नै नसकिएपछि समन्वय गरेर बालुवा-गिट्टीले खाल्डा पुर्ने काम भएको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले सेतोपाटीलाई बताए।
‘सडकभरि भैंसी आहाल बस्ने जत्रा खाडल बनेपछि एम्बुलेन्ससमेत चलाउन सक्ने अवस्था रहेन,’ मेयर चौधरीले भने, ‘बिरामीलाई समेत अस्पताल पुर्याउन नमिल्ने भएपछि सबैको समन्वयबाट बालुवा गिट्टी सडकमा राख्ने काम भएको हो।’
मेयर चौधरीका अनुसार सहिद मार्गका खाडल भर्न १२०० घनमिटर बालुवा र गिट्टी घोराही उपमहानगरपालिकाले नि:शुल्क उपलब्ध गराएको थियो। त्यो बालुवा गिट्टी सिमेन्ट उद्योगहरूका लागि चुन ढुँगा बोक्ने टिपरले नि:शुल्क रूपमा बोकिदिए।
घोराहीले दिएको बालुवा-गिट्टीले मात्रै सम्भव नभएपछि दाङ तुलसीपुरको दूधरासस्थित सोना सिमेन्ट प्रालिले ६०० घनमिटर बालुवा-गिट्टी सहिद मार्गमा लगेर खाडल पुर्ने काम भएको मेयर चौधरीले बताए। त्यो प्रयासले सहिद मार्गको केही सुधार भए पनि केही दिनमै सडक फेरि उस्तै भइसकेको छ।
यो सहिद मार्ग सिल प्यासेफिक ज्वाइन्ट भेन्चर कम्पनीले आर्थिक वर्ष २०७४/०७५ मा संघीय सरकारको ४६ करोड लागतमा निर्माण गरेको हो।
सडक आयोजनाका प्रमुख विष्णुबाबु पाण्डेका अनुसार सडक अझै हस्तान्तरण भइसकेको छैन। ‘सडक पूरै जिर्ण भइसकेको छ,’ पाण्डेले भने, ‘त्यस्तो सडक कसरी बुझ्ने हो भन्ने सवाल खडा भएको छ।’
उनले सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीलाई पुनः सडक बनाउनका लागि डिसेम्बरसम्मको समय थपिदिएको जानकारी दिए।
तर, सडक कालोपत्रे गरेको निर्माण कम्पनीका निर्माण व्यवसायी (ठेकेदार) ठाकुर कँडेलले भने एक वर्ष पहिले नै सडक हस्तान्तरण भइसकेको दाबी गरे। उनले आफूले डिजाइन अनुसार नै सडक निर्माण तथा कालोपत्रेको काम पूरा गरेको दाबी गरे।
‘सडक यति छिट्टै जीर्ण बन्नुको कारण हाम्रो कमजोरीले हैन,’ कँडेलले भने, ‘सडक ध्वस्त हुनुको प्रमुख कारण सिमेन्ट उद्योगका टिपरले गर्दा हो। कारबाही उनीहरूलाई हुनुपर्छ।’
उनले आफूलाई दिइएको डिजाइन अनुसार नै १० टन भारवहन क्षमताको सडक निर्माण गरेको भए पनि त्यसमा सिमेन्ट उद्योगका ३० देखि ३५ टन चुन ढुंगा बोकेका टिपर गुडेको हुँदा सडक जीर्ण बनेको बताए।
सहिद मार्गका तुलसीपुर दूधरासको सोना सिमेन्ट उद्योग, देउखुरीको सम्राट सिमेन्ट उद्योगका समेत गरी दैनिक दुई सयदेखि तीन सयसम्म टिपरहरू गुड्दा सडक क्षतविक्षत भएको उनले दाबी गरे। त्यस्तै, उनले घोराही सिमेन्ट उद्योगले पनि खानी खोल्नका लागि खनेको नयाँ ट्रयाकले सहिद मार्गको सडकमा पहिरो गएको बताए।
‘पाँच वर्षको बच्चालाई १०० क्विन्टलको भार बोकाएपछि के हुन्छ?,’ ठेकेदार कँडेलले प्रश्न गरे, ‘ठिक त्यस्तै १० टन क्षमताको सडकमा ३५ टन भन्दा बढी भार बोकेका टिपर दैनिक सयौं संख्यामा गुडे के हुन्छ? बाटो ध्वस्त हुन्न?’
ठेकेदार कँडेलले आफूहरूले दुई पटक सहिद मार्ग मर्मतको काम गरेको र अहिले तेस्रो पटक पनि मर्मत गर्न भनेर दबाब सिर्जना गर्न खोजिएको हुँदा आफू न्यायका लागि अदालतमा गएको बताए। एक पटक मर्मत गर्दा दुईदेखि अढाइ करोडसम्म खर्च हुने गरेको हुँदा अब तेस्रो पटक सडक मर्मत गर्न नसक्ने उनले बताए।
‘गल्ती हाम्रो होइन सिमेन्ट उद्योगहरूको हो,’ उनले भने, ‘सिमेन्ट उद्योगका टिपरलाई १० टन भन्दा बढी लोड बोक्न नदिने भन्ने सम्झौता किन कार्यान्वय नहुनु?’
सम्झौता कार्यान्वयन गराउन कुनै भूमिका नखेल्ने प्रशासन प्रमुख, सडक विभाग प्रमुख, सिमेन्ट उद्योगलाई विपक्षी बनाएर आफूले अदालतमा मुद्दा हालेको कँडेलले बताए।
‘अब हामीलाई अदालतले न्याय दिन्छ र सडक पनि अदालतले नै बुझ्छ,’ कँडेलले भने, ‘मिलेमतोमा सिमेन्ट उद्योगलाई मनपरी माल ओसार्न दिनेहरू कारबाहीको भागिदार बन्नुपर्छ।’
उनले आफूले काम गरेबापत ८/१० करोडजति रकमको भुक्तानी समेत पाउन बाँकी नै रहेको बताए।
तर, सडक आयोजनाका प्रमुख विष्णुबाबु पाण्डेले भने अब निर्माण कम्पनीलाई अढाइ करोडजति रकम मात्रै भुक्तानी गर्न बाँकी रहेको बताउँछन्।
एक्जिम बैंक अफ इण्डियाको सहयोगमा सहिद मार्ग विस्तार तथा कालोपत्रे गर्ने काम भएको हुँदा असहज परिस्थितिले भुक्तानीमा केही ढिला भएको उनले बताए।
सडक यति छिट्टै विग्रनुमा निर्माण कम्पनीले आफू दोषरहित भएको बताउँछ नि? भन्ने प्रश्न गर्दा सडक आयोजना प्रमुख पाण्डेले पनि निर्माण कम्पनीको दाबीमा केही सत्यता रहेको स्वीकार गरे। सयौं टिपर गुडेपछि सडक छिट्टै बिग्रिएको पाण्डेले स्वीकार गरे। ‘पानी परिरह्यो र सयौं टिपर पनि गुडिरहे, त्यसले कालो पत्रे छिट्टै ध्वस्त भयो,’ पाण्डेले भने।
यसका साथै उनले निर्माण कम्पनीको पनि खोट औंल्याए। ‘मोडहरूमा कम्तीमा पनि आरसिसी ढलान गरेको भए हुन्थ्यो,’ पाण्डेले भने, ‘लमही–घोराही मोडहरूमा गरिएको आरसिसी ढलानले आज कति सजिलो भएको छ।’
दर्जनौं मोड र उकालै उकालो सडक खण्ड निर्माणमा गर्दा निर्माण कम्पनीले पनि त्यस्ता कुरामा ध्यान नदिएको कमजोरी उनले औंल्याए।
‘उहाँहरूले हामीलाई चिठ्ठी लेखेर आफू दोषी नरहेको र पुनः मर्मत गर्न नसक्ने कुरा उल्लेख गर्नु भएको छ,’ पाण्डले भने, ‘तर, हामीलाई पनि कालो पत्रे विरलै देखिने सडक कसरी बुझ्ने भन्ने प्रश्न चिन्ह खडा भएको छ।’
अब यसको समाधान राजनीतिक रूपमा खोजिनुपर्ने उनले तर्क गरे।
टिपर हिँड्ने वैकल्पिक मार्ग प्रयोगमा नआउँदा समस्या
दाङमा सञ्चालित तीन वटा सिमेन्ट उद्योगहरूले आफूलाई आवश्यक पर्ने कच्चा पदार्थ चुन ढुंगा रोल्पा जिल्लाबाट ओसार्दै आएका छन्।
त्यसैले सहिद मार्गमा तुलसीपुरको दूधरासस्थित सोना सिमेन्ट र देउखुरी लमहीस्थित सम्राट सिमेन्ट उद्योगका सयौं टिपर यो सडक खण्डमा दैनिक रुपमा ओहोरदोहोर गरिरहन्छन्।
सोना सिमेन्ट उद्योगका टिपरहरू सञ्चालनका लागि भनेर दूधरास-छिल्लीकोट हुँदै रोल्पाको होलेरी जोड्ने औद्योगिक मार्ग पनि निर्माण पूरा भएको छैन। त्यो मार्ग निर्माण पूरा नभएको हुँदा चुन ढुंगा बोक्ने टिपर सहिद मार्गमा गुड्दै आएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए।
उनका अनुसार अब ४-५ किलोमिटर जति अप्ठेरो पहरामा ट्रयाक खोल्न बाँकी छ।
४० करोड लागतमा औद्योगिक मार्ग निर्माण थालिएको प्रजिअ रिजालले बताए। ‘वार्षिक एक करोड रकम आउनु पर्नेमा यो वर्ष रकम नै आएन भन्ने कुरा सुनेको छु,’ प्रजिअ रिजालले भने, ‘त्यसैले यो वर्ष सडक निर्माणको काम पनि भएन।’
औद्योगिक मार्ग समयमै निर्माण पुरा नहुँदा टिपरहरू सहिद मार्गबाट गुड्ने गरेको र त्यसले सडक खण्ड बिगारेको हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको प्रजिअ रिजालले बताए ।
घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, रोल्पाको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा, सहिद मार्ग निर्माण कम्पनीका ठेकेदार ठाकुर कँडेल र आयोजनाको प्रमुख विष्णुबाबु पाण्डेले पनि औद्योगिक मार्गबाट टिपर गुड्न थालेपछि मात्रै सहिद मार्ग जोगिने तर्क गरे।