सल्यानका एक वडाध्यक्ष दुई दिनदेखि घर नफर्किएपछि अपहरणमा परेको आशंका गरिएको छ।
कर्णाली प्रदेशका डिआइजी वसन्तराज पन्तले शारदा नगरपालिका- १३ का वडाध्यक्ष तुलसीराम रावत आइतबारदेखि घर नर्फिएपछि परिवारजनले अपहरणमा परेको आशंका व्यक्त गरेको सेतोपाटीलाई बताए।
‘उहाँले हिजो छोरालाई फोन गरेर म जिल्लामै बस्छु भन्नुभएको रहेछ र आज फेरि फोन गरेर मेरो खातामा २० हजार रुपैयाँ पठाइ देऊ भोलि आउँछु भनेको हुँदा अपहरणको आशंका भइरहेको हो,’ डिआइजी पन्तले भने, ‘प्रहरीले त्यसबारे गम्भीर ढंगले अनुसन्धान सुरू गरिसकेको छ।’
परिवारसँग कुरा गरे पनि उनले आफू कुन ठाउँमा छु भन्ने कुरा बताउँदैनन्।
वडाध्यक्ष रावतको जग्गाको ठूलो कारोबारसमेत रहेको हुँदा आर्थिक लेनदेनका कारण कसैले अपहरण गर्यो कि वा अहिलेको प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताले चन्दाका लागि अपहरण गरे कि भन्ने शंकाका आधारमा अनुसन्धान भइरहेको डिआइजी पन्तले बताए।
हालसम्म कुनै पनि आधिकारिक सुराक प्राप्त भइनसकेको उनले जानकारी दिए। उनले त्योबाहेक अरू कुनै कारण पनि हुन सक्ने आशंका गर्न सकिने बताए।
‘आज पनि वडाध्यक्षले परिवारसँग फोनमा कुरा गरिराख्नुभएको छ,’ पन्तले भने ‘तर उहाँ कहाँ हुनुहुन्छ भन्ने पत्ता लागिसकेको छैन।’
विप्लवका कार्यकर्ताले अपहरण गरेको भए किन त्यसरी फोन गर्न दिन्थे होला? भन्ने प्रश्न पनि उब्जिएको उनले बताए।
पन्तले भने, ‘ जेहोस् प्रहरी यो घटनाबारे गम्भीर ढंगले लागेको छ र छिट्टै तथ्य पत्ता लगाएरै छोड्छ।’
सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले पनि परिवारले वडाध्यक्ष रावत अपहरणमा परेको आशंकासहित सोमवार दिउँसो जिल्ला प्रहरी कार्यालयलमा आएर निवेदन दिएको जानकारी दिए।
‘अहिले म परिवारका सदस्यसँग बसेर कुरा गरिरहेको छु,’ थापाले भने, ‘अनुसन्धान जारी छ र अहिले नै केही भन्न सक्ने अवस्था छैन।’
स्रोतका अनुसार प्रहरीले वडाध्यक्षको लोकेसन ट्रयाक गरेर उनको खोजी कार्य अगाडि बढाएको छ। स्रोतले दिएको जानकारी अनुसार वडाध्यक्षले दाङको तुलसीपुर क्षेत्रबाट समेत फोन गरेको देखिन्छ।