डाँडापारीको सूर्य अस्ताउने दिशामा रहेकाले तापक्रम मत्थर भइसकेको छ।
पिप्रहवा डाँडानजिकै मयाखोला सामुदायिक वन छ। त्यही पिप्रहवा डाँडामा बस्छिन् ६३ वर्षीया रामप्यारी शाह। यो दंगिशरण गाउँपालिका वडा नं. ५ मा पर्छ। हामी पुग्दा उनी घरमा थिइनन्। घर लिप्नका लागि थुपारेर राखेको माटो आँगनमा थियो। सानो ताल्चा झुण्ड्याइएको थियो।
बुधबार बेलुका घडीमा ६ बज्नै लाग्दा उनी घर आइन्। गाउँमा घिउ र मह खोज्न गएकी रहेछिन्।
उनी घर आइपुग्ना साथ दुई बिराला निस्किए, एउटा खैरो र अर्को सेतो रंगका। ती बिराला उनको वरिपरि म्याउ–म्याउ गर्दै लुटपुट गर्न थाले। आफ्नो भन्ने यी बिराला मात्रै हुन भन्ने रामप्यारीलाई लाग्छ।
ती बिराला उनीसँगै सुत्छन्। ‘यिनीसँगै बोल्छु, सँगै खेल्छु, सुत्छु,’ रामप्यारीले भनिन् ‘यी बाहेक मेरा अरु आफ्ना भन्ने कोही छ्रैनन्।’
शाहको हातमा स–सना दुई वटा प्लाष्टिकका डिब्बाहरु थिए। त्यसमा मह र घिउ ल्याएकी रहिछन्। ‘शुद्ध गाईको घिउ पाइन्न,’ रामप्यारीले भनिन् ‘भैंसीको घिउ भए पनि लिएर आएँ।’ त्यो उनले पल्लो गाउँबाट मागेर ल्याएकी थिइन्।
उनले भनिन् ‘श्रीमानको तिथि नजिक आइसक्यो। कपासको बत्ती काटेकी छु। यो मह र घिउ बत्ती बाल्नका लागि ल्याएकी हुँ।’
रामप्यारीले भनिन् ‘मलाई श्रीमान बितेको तीन दिनमै गहुँत ख्वाए। त्यसैले मेरा श्रीमानले राम्रो ठाउँ पाएका छैनन्। उनको नाममा बत्ती बालेपछि राम्रो ठाउँ पाउँछन् कि।’
रामप्यारीका अनुसार उनका ६७ वर्षीय श्रीमान् रामबहादुर शाहको गत साल असोजमा दशैंको मुखमै हत्या भएको हो। सप्तमी भन्दा दुई दिन अगाडि उनका पतिको गाउँमै हत्या भयो। त्यो दिन रामप्यारी दशैं मनाउन आफ्नो घर लिपपोत गरिरहेकी थिइन्।
सोही वडाकै कुरी निवासी कालिचरण र साइचरण चौधरी उनको घरमा आए। एउटा गोरु (नाटो) ५ हजारमा किनेर लगे। तर, उनीहरुले पैसा दिएका थिएनन्। त्यही पैसा माग्न चौधरीका घरमा रामबहादुर गए।
पैसा माग्दा आपसमा विवाद र कुटाकुट भयो। घरेलु हतियार खुर्पा पनि प्रयोग भयो। रामप्यारीका अनुसार तीन बाउ छोरा लागेर शाहलाई आक्रमण गरे।
आक्रमणबाट गम्भीर घाइते अवस्थामा शाहलाई उतैबाट तुलसीपुरस्थित तत्कालीन राप्ती अञ्चल अस्पतालमा उपचारका लागि पुर्याइयो। घर लिपपोत गरिरहेकी रामप्यारीलाई यो घटना थाहै भएन ।
एक्कासी झिसमिसे साँझमा दुई जना प्रहरी शाहको घरमा आए। उनका श्रीमान् रामबहादुर कुटपिटबाट गम्भीर घाइते भएको तथा अस्पतालमा भर्ना भएको खबर दिए।
रुँदै हिँडेकी उनीसँग बजारसम्म पुग्नलाई कुनै साधन र पैसा पनि थिएन। दया गरेर कसैले उनलाई ५० रुपैयाँ दिए। अनि त्यही ५० रुपैयाँको अटो चढेर उनी अस्पताल पुगिन्।
अस्पतालमा श्रीमान अचेत थिए। त्यो रात उनी अस्पतालमै बसिन्। श्रीमानको अवस्था देख्नासाथ रामप्यारीले ऋण गरेर नेपालगञ्ज लैजानेबारे सोचिन्। तर, भोलिपल्ट बिहानै उनका श्रीमान बोले र आफूलाई घर लैजान आग्रह गरे। बिहान सात बजेतिर घरको आँगन टेक्नासाथ उनका श्रीमानले प्राण त्यागे।
छिमेकलाई जिउँदाको जन्ती मर्दाको मलामी भन्ने गरिन्छ। तै, गाउँले जम्मा ६ जना मात्रै भेला भए। ‘गन्ने मान्ने मानिसको मृत्यु हुँदा फरक कुरा हुन्थ्यो,’ रामप्यारीले भनिन् ‘गरिब र बेसाहारालाई सबैले हेप्दा रैछन्।’
रामबहादुरले वर्षौंदेखि मया सामुदायिक वनको चौकीदारी गर्दै आएका थिए। मासिक चार सय उनको तलव थियो। तर उनको मृत्यु भएपछि एउटा रुख काट्न पनि रामप्यारीले अनुमति पाइनन्।
हिन्दु संस्कार अनुसार उनले श्रीमानको अन्त्येष्टि गर्न चाहान्थिन्। तर, कुनै उपाय चलेन। अनि रामबहादुरको शव ६ जनाले नजिकैको पिप्रहवा डाँडोमा लगेर गाडे।
अचाक्ली याद आउँदा आज पनि रामप्यारी श्रीमान् रामबहादुरलाई गाडेको ठाउँमा गएर बस्छिन्। त्यही माथि बसेर रुन्छिन रे।
रामबहादुरको हत्या दशैंको समयमा भएकाले गाउँले कोही पनि बत्ती कुर्न नआउने बताए। ‘हामी घरमा मासुभात खान छोडेर बत्ती कुर्न आउन्नौँ भने,’ रामप्यारीले भनिन् ‘त्यसैले मलाई गौशालामा लगेर राखियो र तीन दिनमै मलाई गहुँत खुवाए।’
स्थानीय जनप्रतिनिधिले नै त्यसो गर्न लगाएको उनले बताइन्। जो कुरा उनलाई आजसम्म पनि पटक्कै चित्त बुझेको छैन। अवला रामप्यारीले कसैको विरोध गर्न सकिनन्। बोलेको कुरा कसैले सुनेन् रे। गौशालाबाट उनी १५/१६ दिनपछि फर्केर घर आइन्। त्यसयता उनी एक्लो घरमा बस्दै आएकी छन्। नजिकमा रामप्यारीको आफ्नो भन्ने कोही छैन।
भएका दुई सन्तान दादुराले लग्यो
उनका सन्तान नभएका होइनन्। दादुराका कारण एउटा छोरा ५ वर्षमै विते र छोरी ३ वर्षमै वितिन्। ‘उतिबेला अहिलेका जस्ता अस्पताल पनि थिएनन् र दादुराको औषधि पनि थिएन,’ उनले आँशु झार्दै भनिन् ‘मेरो छोराछोरी बाँचेका भए आज तपाईंहरु जस्तै लक्का जवान हुने थिए। म एक्लै बस्नुपर्ने थिएन।’
पछि सन्तान नजन्मिएको शाहले बताइन्। ‘म शाही ठकुरीकी छोरी हुँ, १२ वर्षको छँदा बाआमाले बिहे गरेर पठाइदिए,’ रामप्यारीले भनिन् ‘म १५ वर्षको छँदा हामी दाङ झरेका हौं।’ उनको माइती घर रुकुम हो। सानै उमेरमा दाङ झरेकी रामप्यारी त्यसपछि माइतीघर कहिल्यै नगएको बताउँछिन्।
यो बीचमा उनको माइतीका कसैसँग भेटघाट र सम्पर्क भएको छैन। उनीसँग मोबाइल पनि पनि छैन। दाङ झरेपछि उनका श्रीमानले वर्षौंदेखि यसैगरी ठाउँ ठाउँका वनहरुमा चौकीदारी गर्दै दिन विताए। पछिल्लो मयाखोला सामुदायिक वनमा रामबहादुरले चौकीदारी गर्न थालेको १९ वर्ष पुगिसकेको रामप्यारीले बताइन्।
चर्किएको घरमा पुरिएर मर्छु कि भन्ने लाग्छ
जहाँ अहिले बसिरहेकी छन् यो घर दश वर्ष पहिला उनका पतिले बनाएका हुन्। खर (फुस) को छानोयुक्त यो घर अहिले भने जीर्ण बनिसकेको छ। यो वर्ष लगातारको वर्षाले घरको भित्ता ठाउँ ठाउँमा चर्किसकेको छ, कतिपय ठाउँ भत्किएको छ।
पानी चुहिन थालेपछि खरको छानोमाथि त्रिपाल टाँगिएको छ। ‘ठूलो पानी र चट्याङ आउँदा म बाहिरै बोरा ओढेर रातभर बस्छु,’ रामप्यारीले भनिन् ‘घर भित्र बस्यो भने भत्किएर मर्छुकी भन्ने डर लाग्छ।’ त्यतिबेला आफ्नो अघिपछि म्याउँ म्याउँ गर्दै बिरालोले साथ दिने गरेको रामप्यारीले बताइन्। ‘झरी लागेपछि म बोरा ओढेर बाहिर आउँदा उनीहरु पनि मसँगै बस्छन्, मेरो साथ छोड्दैनन्।’
उनको घर एकान्तमा छ। भनिन् ‘म घर भत्किएर मरेँ भने त्यही भित्रै कुहिएर मर्छु होला। मेरो को छ र? मलाई खोज्न को पो आउला र?’
उनी बस्दै आएको जग्गा र घर सबै ऐलानी हो। उनको घरको माथिबाट बिजुली बत्तीको तार तानिएको छ। उनको घरमा बिजुली जोडिएको छैन।
न रेडियो छ, न टिभी। शौचालय पनि छैन। डाँडाकाँडा र खोलामा शौच गर्ने गरेको उनले बताइन्। खाने पानी लिन खोलामा जानु पर्ने बाध्यता सुनाइन्। घरसम्म जाने गोरेटो बाटो पनि कतैबाट छैन। खेतका आली र गह्रा हुँदै उनको घरसम्म पुग्नुपर्ने बाध्यता छ।
उनलाई सबैभन्दा पीडा उनका श्रीमानका हत्याराहरु खुलेयाम गाउँघरमै हिँडिरहेको देख्दा हुन्छ। ‘न न्याय पाइयो, न कुनै क्षतिपूर्ति नै पाइयो,’ रामप्यारीले भनिन् ‘हत्याराहरु गाउँमै मज्जाले बसिरहेका छन्। गरिब र दिन दुःखीको कोही हुने रहेनछ, बाबु।’ रामप्यारीका अनुसार उनका श्रीमानका हत्याराहरु जेलबाट तीन दिनमै छुटेका थिए। गाउँकै नेताहरुको भनसुनमा उनीहरु छुटेका हुन्।
श्रीमान रामबहादुरको हत्यापछि उनले कतैबाट कुनै पनि प्रकारको सहयोग नपाएको बताइन्।
हेल्पिङ ह्याण्ड तुलसीपुर दाङले गत शनिबार असोज ९ गते मात्रै रामप्यारीको घरमा गएर खाद्यान्न सहयोग गरेको छ। रामप्यारीलाई हालसम्म सहयोग प्रदान गर्ने पहिलो संस्था उही मात्रै हो।
संस्थाका सचिव प्रमोद आचार्यका अनुसार उनीहरुले झन्डै ४ हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन्। त्यसमा दुई बोरा चामल, ८ प्याकेट नुन, ७ प्याकेट खाने तेल र पाँच किलो दाल सहयोग स्वरुप प्रदान गरेको सचिव आचार्यले बताए। उनले थपे ‘उहाँको घरमा टिन लगाउनेबारे सरसल्लाह गरिरहेका छौं।’
यो सहयोगप्रति रामप्यारी खुसी छिन्। ‘मेरा छोरा नातिनतिना जस्ता आएर मलाई खानेकुरा छोडेर जानु भयो’ उनले भनिन्। रामप्यारीको चाहाना कसैले ढल्न थालेको घर जोगाइदिए हुन्थ्यो भन्ने छ। उनले घरमा जस्तापाता (टिन) लगाउने चाहना व्यक्त गरिन्। ‘घरमा टिन लगाउन सके म बाँच्दासम्म मेरा श्रीमानले बनाइदिएको घरमा बस्न पाउने थिएँ,’ रामप्यारीले भनिन्।
अर्को उनको चाहना माइती गाउँ जाने छ। त्यहाँ पुगेर आफन्त, दिदीबहिनी भेट्ने उनको चाहना छ। उनलाई प्रिपहवा डाँडो छोडेर अन्त कतै जान मन भने छैन। ‘मेरो श्रीमानको जहाँ प्राण गयो, मेरो पनि त्यही प्राण जाओस् भन्ने म चाहन्छु,’ रामप्यारीले थपिन् ‘म मरेपछि मेरै श्रीमानलाई गाडेको ठाउँमा लगेर गाड्नु भनेर भन्ने छु।’