दाङ देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले दाङका पक्षमा बल्ल उचित न्याय भएको बताएका छन्।
राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको राजधानी भएपछि दाङलाई छोडेर एउटा कुनोमा राजधानी राख्ने गल्ती यसअघि भए पनि हाल आएर त्यो सच्चिएकोमा उनले खुसी व्यक्त गरे।
राप्ती गाउँपालिकासँग तत्कालै स्थायी राजधानी व्यवस्थापन गर्ने प्रशस्त आधार रहेको उनले बताए।
‘तत्काल राजधानी सारे पनि हामी त्यसको व्यवस्थापन गर्न सक्छौं,’ अध्यक्ष सुवेदीले भने, ‘हामीसँग प्रशस्त भौतिक पूर्वाधार पनि तयारी हालतमा छन् भने एक वर्ष अगाडि नै मैले एक हजार बिगाहा जग्गा छुट्याइसकेको छु।’
गाउँपालिकाको कार्यालय रहेको वडा नं. ३ मसुरिया नजिकै रहेको राप्ती प्राविधिक शिक्षालयमा तत्कालै राजधानी सञ्चालन गर्न सक्ने भौतिक पूर्वाधार तयारी अवस्था रहेको उनले बताए।
२२ बिगाहा क्षेत्रफलमा फैलिएको प्राविधिक शिक्षालयका ३०-३५ भवन रहेको र त्यसमा मन्त्रीका क्वार्टरसमेत राख्न सकिने उनले बताए।
त्यहाँ झन्डै ३०० को हाराहारी मानिस अटाउने सभा हल पनि छ। उक्त सभाहल ५० को दशकमा विदेशी दातृ संस्थाले निर्माण गरिदिएका हुन। अहिले उक्त भवन कोरोना संक्रमित राख्ने आइसोलेनसन बनाइएको छ।
नजिकैको आदर्श नमूना माविमा ३०-३२ कोठे भवन र आदर्श बहुमुखी क्याम्पसको समेत २ वटा भवनहरु खाली भएकाले प्राविधिक शिक्षालयलाई त्यसैमा स्थान्तरण गर्न सकिने अध्यक्ष सुवेदीले बताए। नभए साँझ-बिहान गरेर पनि कक्षा सञ्चालन गर्न सकिने सुवेदीको तर्क छ।
नजिकै ६-७ बिगाहा जग्गा रहेकाले तत्काल त्यसैमा विद्यालय भवन निर्माण गर्न सकिने आधार रहेको सुवेदीले बताए।
‘राप्ती गाउँपालिकाको भवन पनि अन्तिम चरणमा पुग्दैछ र ९ वडामध्ये हरेकले कम्तिमा पनि एक करोड माथिका भवन निर्माण गरेका छन,’ उनले भने ‘तिनैबाट तत्कालै काम सञ्चालन गर्न सकिन्छ।’
साढे चार तलाको ६३ कोठाको गाउँपालिकाको भवन अन्तिम चरणमा छ। त्यसमा दुई-तीन मन्त्रालय सहजै राख्न सकिने उनले बताए। ठेकेदारले उक्त भवन फागुन-चैतसम्म निर्माण पुरा गर्ने बताएका छन्।
१,२,६,७ का वडा कार्यालय केही तयार भइसकेको र केही हालसालै ढलान भएको सुवेदीले जानकारी दिए। साढे २ तलाका ती भवनमा सभाहल समेत निर्माण गरिएको छ।
राजधानी आए आफूहरू हाल कार्यालय सञ्चालन गर्दै आएका ठाउँमै बसेर भए पनि ती सबै भवन प्रदेश सरकारलाई दिन तयार रहेको उनले बताए।
राप्ती प्राविधिक शिक्षालयभित्रै अर्को झन्डै १० बिगाहा क्षेत्रफलको नवज्योति विद्यालय पनि छ। त्यसका भवन पनि तत्काल प्रयोग गर्न सकिने छ। अध्यक्ष सुवेदीले त्यो विद्यालयलाई दुर्गा भवानी विद्यालयमा मर्ज गर्न सकिने जुक्ति पनि सोचेका छन्।
उनका अनुसार त्यो विद्यालयको नजिकै अस्पतालका लागि भनेर छुट्याइएको थप १० बिगाहा जग्गा पनि छ। त्यही ठाउँको उत्तरतर्फ थप ५०० देखि १००० बिगाहा जग्गासमेत गाउँपालिकाले प्रदेश सरकारका लागि व्यवस्थापन गर्न सक्ने उनको भनाइ छ।
गत वर्ष नै आफूले प्रदेश सरकारलाई आवश्यक परे एक हजार बिगाहा जग्गा नि:शुल्क उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरिसकेको सुवेदीले बताए।
‘सरकारको जग्गा सरकारलाई दिन कुन ठूलो कुरा भयो। मिल्छ र सजिलै दिन सकिन्छ,’ सुवेदीले भने।
राप्ती गाउँपालिकाको दक्षिण तर्फको गढवा गाउँपालिकासंग पनि प्रयाप्त जग्गा जमिन रहेको हुँदा जग्गाको समस्या नहुने सुवेदीको दाबी छ। त्यस्तै अर्घाखाँचीको शितगंगा नगरपालिकामा पनि एउटा मन्त्रालयमा राख्न सकिने उनले बताए।
दाङ देउखुरीको राप्ती गाउँपालिकालाई केन्द्रमा राखेर प्रदेशको राजधानी तोक्नु सामरिक महत्वको विषय हुने उनले तर्क गरे।
‘उपत्यका भए पनि यो सुरक्षित ठाउँ हो। यो महाभारतको काखमा छ र दक्षिणमा चुरे पनि छ,’ उनले थपे ‘ राज्यको स्थापना गर्न सबैभन्दा ठूलो कुरा पानी चाहिन्छ र यो पानी प्रशस्त भएको नदी किनारको जग्गा हो।’
देउखुरी अन्नको भण्डार पनि भएको हुँदा यसले राजधानी पाल्न सक्ने उनको तर्क छ। दूध र मासुमा राप्ती गाउँपालिका आत्मनिर्भर छ। यो ठाउँमा सिजन अनुसारको तरकारी खेती र राप्तीका बगरमा पनि उत्तिकै बगर खेती हुने गर्छ। राप्ती गाउँपालिकामा रोल्पा, रुकुम, प्यूठान र अर्घाखाँची लगाएका पहाडी जिल्लाका मानिसको बसोबास छ। गढवा गाउँपालिका थारू बहुल क्षेत्र हो। कपिलवस्तुको पूर्वी भागको यो नजिक पर्छ। यहाँ कृष्णनगरसम्मका मानिसका जग्गा-जमिन पनि छ।
जग्गा किनबेचमा रोक
राप्ती गाउँपालिकाकाले आफ्नो गाउँपालिकामा घरजग्गा किनबेच गर्न प्रतिबन्ध लगाइसकेको छ। गढवा गाउँपालिकामा पनि त्यही गरिएको छ।
‘मैले आफ्नो गाउँपालिका र गढवा गाउँपालिकामा पनि समन्वय गरी जग्गा किनबेचमा रोक लगाउन आग्रह गरि सकेको छु,’ सुवेदीले भने, ‘प्यूठान र अर्घाखाँचीको शितगंगासँग पनि त्यो विषयमा फोनमा कुरा गरेको छु।’
प्रदेश सरकारले पनि यी ठाउँका जग्गा खरिद बिक्री गर्न तथा कित्ताकाट गर्न रोक लगाइसकेको छ।
‘मभन्दा माथिल्लो निकायले रोक लगाई सकेको हुँदा मैले पत्रचार गरिनँ। फोन गरेर जग्गा किनबेचको लागि कुनै पनि काम नगर्न आग्रह गरेको छु,’ सुवेदीले भने।
यो पनि :
गाउँपालिकाबाट सोझै राजधानी बनेको देउखुरी उपत्यका (तस्बिर/भिडिओ)