हेटौँडामा शुक्रबार साँझ भएको दुई फरक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
मदन भण्डारी राजमार्ग (धरान– चतरा) अन्तर्गत हेटौँडा –१८ मा ट्रयाक्टरको ठक्करबाट अपराह्न एक जनाको र हेटौँडा– ६ को रोहिणी हाउजिङमा करेन्ट लागेर अर्का एक जनाको मृत्यु भएको छ।
हटियाबाट हर्नामाडीतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको ३९२६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पैदलयात्री हेटौँडा –१७ की २९ वर्षीया शर्मिला विश्वकर्माको ज्यान गएको प्रहरीले जनाएको छ। ट्रयाकर प्रहरी नियन्त्रणमा रहेको भए पनि चालक भने फरार रहेको जनाइएको छ ।
त्यस्तै हेटौँडा –६ स्थित रोहिणी हाउजिङ एण्ड स्वस्तिक कोलोनीमा सोलार प्यानल जडान गर्नेक्रममा करेन्ट लागेर घाइते भएका नवलपरासी, कावासोतीका ३० वर्षीय ऋषिराम पोखरेलको ज्यान गएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
(रासस)