दाङमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि खुलेका विद्यालय फेरि बन्द गर्न थालिएको छ।
सोमबारदेखि घोराही उपमहानगरपालिका र बबई गाउँपालिकाले आफ्नो क्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गरिसकेका छन्।
घोराही उपमहानगरपालिकाले सोमबारदेखि लागू हुुनेगरी कात्तिकको १५ गतेसम्म २० दिनका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बालबालिकालाई विद्यालयमा बोलाएर शिक्षण गर्ने कार्य जोखिमयुक्त हुन सक्ने भन्दै सञ्चालित शिक्षण सिकाई क्रियाकलाप बन्द गर्ने निर्णय गरिएको घोराहीका कार्यबहाक नगर प्रमुख भरतमणि अर्यालले बताए।
पछिल्लो समय घोराही उपमहानगरपालिकाले असोजको १ गतेदेखि नगरका सम्पूर्ण विद्यालयमा शिक्षण सिकाईको कार्य सञ्चालन गरेको थियो। अर्यालको अध्यक्षतामा आइतबार बसेको शिक्षा समितिको बैठकले तत्कालका लागि शिक्षण सिकाईका क्रियाकलापहरु बन्द गर्ने निर्णय गरेको थियो।
घोराहीमा कक्षा ११ को परीक्षा समेत कात्तिक १५ गतेसम्मका लागि रोक लगाएको घोराहीका शिक्षा महाशाखाका प्रमुख बिनोद गौतमले जानकारी दिए। पठन पाठन बन्द गरे पनि विद्यालयको दैनिक प्रशासनिक कार्य भने सञ्चालन गर्न दिने निर्णय भएको गौतमले बताए।
त्यस्तै पश्चिम दाङको बबई गाउँपालिकाले पनि पालिकाभरका विद्यालय बन्द गरेको छ। स्थानीयमा कोरोना संक्रमण देखिएपछि तत्कालका लागि विद्यालय सञ्चालनमा रोक लगाइएको शिक्षा शाखा प्रमुख मोहन दाहालले जानकारी दिए। बबईमा असोज ११ गतेबाट सरकारी तथा निजी विद्यालय सञ्चालनमा आएका थिए।
‘समुदायमा संक्रमण बढेपछि हाामीले दुई हप्ता भित्रै शिक्षक सिकाईका क्रियाकलाप बन्द गर्ने निर्णय गरेको हौं,’ दाहालले भने ‘ यस्तो अवस्थामा विद्यालय खोले थप जोखिम हुन सक्ने ठानेर बन्द गरेका हौं।’
तुलसीपुर उपमहानगरपालिकाकामा भने विद्यालय सञ्चालन भइरहेका छन्। उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख तथा कार्यपालिका सदस्य देवराज बिकले जोखिम आँकलन गरेर विद्यालय सञ्चालन गर्न निर्देशन दिइसकेको बताए।
‘हामीले विद्यालय बन्द गर्दा राम्रो म्यासेज जाँदैन कि भनेर सार्वजनिक रुपमा भनेका छैनौं,’ विकले भने ‘तर, विद्यालयहरुलाई अवस्था हेरेर मात्रै सञ्चालन गर्न सर्कुलर जारी गरेका छौं।’ तुलसीपुर क्षेत्रमा संक्रमण डरलाग्दो गरी बढी नसकेको तर्क गरेका उनले त्यस्तो अवस्था आउनासाथ विद्यालय वन्द हुने जानकारी दिए।
जिल्लाका दश पालिकामध्ये अन्य आठ पालिकामा आंशिक रुपमा विद्यालय सञ्चालन भइरहेका छन्। दिनप्रतिदिन जिल्लामा कोरोना संक्रमितको संख्या र मृतकको संख्या पनि बढ्दै जान थालेको छ।