दाङको तुलसीपुर उपमहानगरपालिकाले झन्डै चार करोड लागतमा आफ्नो प्रशासनिक भवन निर्माण कार्य थालनी गरेको छ।
पाँच तले भवन अण्डर ग्राउन्ड पार्किङ सहितको छ। तुलसीपुरमा पार्किङ सहितको सरकारी भवन निर्माण हुन थालेको पहिलो पटक हो।
भवन दुई वर्षभित्र निर्माण पुरा गर्ने लक्ष्य राखिएको छ।
तुलसीपुरका इञ्जिनियर पवन योगीका अनुसार आर्थिक वर्ष २०७६/२०७७ देखि सुरू गरेर २०७८/२०७९ सम्म पूरा गर्ने उद्धेश्यका साथ काम सुरू भएको छ।
भवन निर्माणको जिम्मा एएम/प्रेमधन/स्लेट जेभीले भ्याट बाहेक तीन करोड ९० लाखमा लिएको छ।
निर्माण कम्पनीसँग २०७७ साल जेठ २५ गते सम्झौता भएको थियो।
लकडाउन र कोरोना माहामारीका कारण झन्डै ४ महिला ढिला काम सुरू भएको छ। मेयर घनश्याम पाण्डे र उपमेयर माया शर्माले दुईदिन अघि शिलान्यास गरेका हुन्।
पाँच तलाको आरसिसी बिल्डिङमा जमिन तला पूरै पार्किङका लागि हुने इञ्जिनियर योगीले सेतोपाटीलाई बताए।
त्यसभन्दा माथिका थप तीन तला प्रशासनिक कार्यकक्षका लागि प्रयोग गर्ने गरी डिजाइन गरिएको उनले जानकारी दिए।
नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतका लागि कार्यकक्ष रहने छन्।
पहिलो तलामा नगर प्रमुख र उपप्रमुख तथा उनीहरूका सचिवालयका कर्मचारीका लागि च्याम्बर निर्माण गरिने भएको छ। त्यसपछि प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखा रहने छन्। आवश्यकता अनुसार कोठाहरू पछि पार्टियसन गर्ने योजना रहेको इञ्जिनियर योगीले जानकारी दिए।
भवनको सबभन्दा माथिल्लो तलामा नगरसभा र कार्यपालिका बैठकका लागि सभाहल निर्माण गरिने इञ्जिनियर योगीले जानकारी दिए।
सभाहल कम्तिमा पनि एक सय जना मानिस अटाउने क्षमताको निर्माण हुने छ।
‘भूकम्पीय जोखिमले क्षति नहोस् र भोलि पार्किङको समस्या नहोस् भन्नका लागि तुलसीपुरमा निर्माण हुन थालेको यो नै पहिलो नमूना भवन हो,’ इञ्जिनियर योगीले भने, ‘कम ठाउँलाई पनि सदुपयोग गर्ने उद्धेश्यका साथ बेसमेन्ट पार्किङ सहितको भूकम्प प्रतिरोधी भवन निर्माण थालिएको छ।’
नयाँ भवन १२ मिटर चौडाइ र २४ मिटर लम्बाइमा निर्माण गर्न थालिएको छ।
कार्यालयमा सेवा लिन आउने सेवाग्राही र कर्मचारीका सवारी साधन पार्किङ गर्न मिल्ने गरी अण्डरग्राउन्ड पार्किङको व्यवस्था गर्न लागिएको योगीले बताए।
तुलसीपुर बजार विक्रम संवत २०२७/२०२८ सालतिर तत्कालीन अञ्चलाधीश चन्द्रमान थकालीले गुरूयोजना बनाएर बस्ती बसालेको जानकारहरू बताउँछन्।
जतिबेला अहिलेको जस्तो सवारी चाप थिएन। त्यसैले भवन निर्माण गर्दा कसैले पनि पार्किङको व्यवस्था गरेनन्। जसले गर्दा आज तुलसीपुर बजारमा पार्किङको ठूलो समस्या छ।
पार्किङको सुविधा नहुँदा सेवा ग्राहीले सडकमै सवारी पार्किङ गर्नुपर्ने समस्या छ।
तुलसीपुर बजार क्षेत्रमा मात्रै झन्डै ३ दर्जन बढी निजी बैंक तथा वित्तीय संस्था छन्।
ती संस्थाहरूमा सेवा लिन जाने सेवाग्राहीले सडकमै सवारी पार्किङ गर्नुपर्ने बाध्यता छ। त्यस्तो समस्या नरहोस् भन्नका लागि र तुलसीपुर क्षेत्रको सवारी चापलाई नियन्त्रण गर्नको लागि पार्किङ सहितको भवन निर्माण गरिएको योगीले बताए।
निर्माणाधीन भवन अपांगमैत्री बन्ने छ। त्यसमा लिफ्टको लागि ठाउँ समेत छोडिएको छ।
भवन निर्माणको जिम्मा पाएको कम्पनीसँग भने अहिले लिफ्टको सम्झौता भएको छैन। त्यसका लागि पछि छुट्टै व्यवस्था गरिने भएको छ।
पछिल्लो समय निर्मित दाङ देउखुरी जिल्ला अदालत घोराहीको भवन १९ करोडमा निर्माण भइरहेको छ।
निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। अब रंग रोगन लगायतका काम मात्रै बाँकी छ। दुइटा लिफ्ट सहितको जिल्ला अदालतको भवन ६ तले छ।
हालसम्म जिल्लामा निर्मित सबभन्दा आधुनिक र ठूलो सरकारी भवन त्यसैलाई मानिएको छ।
दुई वर्ष अगाडि मात्रै निर्माण गरिएको उच्च अदालत तुलसीपुरको सरकारी वकिलको कार्यालय भवन पनि जिल्लाको आधुनिक भवन मध्यमै पर्छ। यद्यपी त्यसमा लिफ्ट तथा अण्डर ग्राउन्ड पार्किङको सुविधा भने छैन।
तुलसीपुर उपमहानगरपालिकामा हाल १९ वडा र झन्डै २९ वटा शाखा तथा महाशाखा छन्।
झन्डै चार सय जति कर्मचारी कार्यरत् छन्। कृषि, स्वास्थ्य, पशु जस्ता शाखाहरू अहिले पनि बाहिरबाट सञ्चालन गर्दै आइएको छ।
पुरानो भवनमा पर्याप्त स्पेश पनि छैन। कर्मचारीका लागि समेत अपुग भइसकेको छ। जसले गर्दा सेवा दिन र लिन पनि समस्या छन्। निर्माणाधीन प्रशासनिक भवन तयार भए सेवाग्राहीले एकै ठाउँबाट सेवा पाउन सक्ने छन्।
२०४९ सालतिर निर्मित तुलसीपुर नगरको भवन हाल आएर सेवा प्रवाहको लागि साँघुरो भइसकेको छ।
पुरानो भवन पनि नधप्काएर दुवै भवनबाट सेवा दिने सोचका साथ नयाँ पाँच तले भवन निर्माणको काम अगाडि बढाइएको इञ्जिनियर योगीले बताए।
त्यस्तै, तुलसीपुरमै तुलसी टावर निर्माण गर्ने गरी डिजाइन फाइनल भइरहेको छ। सहरी विकासको झन्डै ३५ करोड लागतमा टावर निर्माणको लागि माटो जाँच लगायतका प्रक्रिया पूरा भइसकेका छन्।