नेपाल भारत-सीमाको प्रमुख चुनौती तस्करी हो। तस्करीबाट छिटो आम्दानी हुने हुँदा त्यसले अवैध व्यापार र समाजमा अपराध बढाएको छ।
वारिपारि हुने अवैध व्यापार रोक्न सरकारले सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गर्ने गरेको छ। त्यसमध्ये पनि सीमाको सुरक्षा र अवैध कारोबार रोक्ने प्रमुख जिम्मेवारी सशस्त्र प्रहरीको हो।
सीमामा सक्रिय तस्करको प्रयास भने तिनै प्रहरीलाई छलेर वा मिलाएर तस्करी गर्ने हो।
तस्करी गर्ने समूह सुरक्षा निकायसँग सकभर ‘सेटिङ’का लागि सर्वपक्षीय ‘लविङ’ गरिरहेको हुन्छ। प्रहरीसँग सहकार्यको हात फैलाएर तस्करी गिरोहले त्यसैअनुसार वारिपारिको ‘रणनीति’ बनाउँछन्।
कैलालीमा भारतसँग जिडिएको सीमामा तस्करहरूले नेपाल प्रहरीका दुई जनाको हत्या गरेर तस्करीको गाडी सिमापारि पुर्याएपछि सँगै रहेको सशस्त्रको ठूलो टुकडीको भूमिकामाथि धेरैको ध्यान गएको छ।
धनगढी उपमहानगरपालिका-१२ जुगेडा प्रहरी चौकीको जनशक्ति जम्मा १० जनाको हो। यही चौकीको एक किलोमिटर टाढा सशस्त्र प्रहरीको बोर्डर अब्जरभेसन पोस्ट (बिओपी) छ। जहाँ सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३३ जना सशस्त्र प्रहरी छन्।
तस्करी गर्ने समूहले त्यहीँनेर प्रहरीमाथि धावा बोल्यो। दुई जनाको हत्या गर्यो। सशस्त्र प्रहरी नजिकै छ, उसले समात्छ वा तस्करीको गाडी पारि पुर्याउन सकिन्न भन्ने ठानेन।
न्यून जनशक्ति नै भए पनि प्रहरीले रातको समयमा पनि गस्ती गरेको देखियो।
जिम्मेवारी निभाउन राति निस्किएका जुगेडा प्रहरी चौकीका इञ्चार्ज असई एक जवानलाई तस्करहरूले नियन्त्रणमा लिएर दुवैको निर्मम हत्या गरे। केराउ तस्करी गरेर ल्याएको गाडी सीमापारि भारतमा पुर्याए।
सशस्त्रको बिओपीले त्यो केही पनि थाहा पाएन। कैलालीमा तस्करी नियन्त्रण गर्ने प्रहरी मारिएपछि सशस्त्र प्रहरीको भूमिकामाथि उठेको छ।
सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालका अनुसार बिओपीलाई प्रष्ट म्याण्डेट छ। बिओपीलाई प्रमुख रुपमा सीमा सुरक्षाको म्याण्डेट छ। ‘यसबाहेक राजश्व छली, सीमा वारपार (तस्करी)लगायत अपराध नियन्त्रणको म्याण्डेट छ,’ अर्यालले भने।
राजश्व छली, सीमा वारपारको म्याण्डेट लिएको यतिको जनशक्ति भएको ठाउँमै प्रहरीको हत्या हुँदा बिओपीले त्यसदिन जानकारी नै पाएन। प्रहरी मारेर गाड्दा पनि थाहा पाएन। केराउ भारतसम्म पुर्याउँदा पनि थाहा पाएन।
जुगेडा बिओपीका इन्सपेक्टर खेमराज जोशीका अनुसार सशस्त्र प्रहरीले घटना भोलिपल्ट मात्र थाहा पायो। घटना भएको स्थानमा त्यसदिन सशस्त्र प्रहरीको टोली थिएन।
‘१०/१२ किलोमिटर बोर्डर एरिया छ, हाम्रो टोली अर्कोतर्फको क्षेत्रमा खटिएको थियो,’ जोशीले भने, ‘भोलिपल्ट गएको पैदलगस्तीले घटनाबारे सुनाएको थियो।’
नेपाल प्रहरीको भने फरक गुनासो छ- त्यहाँ खटिएको बढी जनशक्ति र हातहतियारले सुसज्जित सशस्त्रको टोलीले तस्करी नियन्त्रणमा राम्रो काम गरेको छैन।
अहिले कैलाली घटनापछि नेपाल प्रहरीका अधिकारीहरू भन्छन्- सशस्त्रले काम गरेको भए हामी जानै पर्थेन। प्रमुख जिम्मेवारी उसैको हो।
एक अधिकारीका अनुसार यतिका म्याण्डेट लिएर बसेको सशस्त्र प्रहरीले नै तस्करी नियन्त्रण गर्नुपर्ने हो। ‘तर, उसले खासै भूमिका खेल्दैन, समन्वय पनि गर्दैन, सशस्त्रको भर छैन,’ ती अधिकारी भन्छन्।
मुख्य जिम्मेवारी सशस्त्रको तर नेपाल प्रहरी किन राति गस्तीमा गएको भन्ने प्रश्नमा ती अधिकारीले भने, ‘भोलि तस्करी खुला गरिदियो भनेर नेपाल प्रहरीलाई बात लाग्छ, हामी यो दोष टाउकोमा राखेर करिअरमा दाग लगाउन चाहन्नौं।’
कैलालीमा सशस्त्र प्रहरीका जम्मा १२ वटा बिओपी छन्। तीमध्ये १० वटामा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा छ। दुई वटा बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्व छ।
ती बिओपीमा २५-३५ जनाको जनशक्ति खटिने गरेको छ। कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवरले यी सबै बिओपीले सीमा सुरक्षासहित तस्करी नियन्त्रणमा काम गर्ने गरेको बताए।
उनले सशस्त्र प्रहरीले तस्करीविरूद्ध काम गरेको र कैलाली सशस्त्र प्रहरीले भदौ महिनामा २६ लाख २२ हजार २०८ रुपैयाँ र असोज महिनामा २१ लाख ८ हजार ८८ रुपैयाँको सामग्री बरामद गरेर भन्सार दाखिला गरेको बताए।
अर्थात्, भाग लगाउँदा इन्सपेक्टर बस्ने एउटा बिओपीले मुस्किलले महिनामा दुई लाख रुपैयाँको सामग्री बरामद गरेछ। यो तथ्यांकले सशस्त्रले तस्करी नियन्त्रणमा धेरै सफलता पाएको देखिन्न। असई विकले त्यसदिन समात्न खोजेको केराउ करिब ३० क्विन्टल थियो। यसको मूल्य करिब चार लाख पर्न जान्छ।
सशस्त्र प्रहरीले भने तस्करी नियन्त्रणका लागि अधिकतम् प्रयास गरिरहेको बताएको छ। कैलालीका सशस्त्र प्रहरी उपरीक्षक कुँवरले आफ्नो नियमित गस्ती र टोली सीमा नाकामा तस्करी नियन्त्रणमा खटेको बताए। ‘आवश्यकता अनुसार हामी र नेपाल प्रहरीबीच समन्वय भएर संयुक्त किसिमले परिचालन हुन्छौं,’ उनले भने, ‘नभए आ-आफ्नो किसिमले तस्करी नियन्त्रणमा खटिरहेका हुन्छौं।’
प्रहरी अनुसन्धान अनुसार केराउ तस्करले नै प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्या गरेका हुन्। हत्यामा संलग्न आठ जना पक्राउ परिसकेका छन्।उनीहरूलाई प्रहरीले भारत गई पक्रेर ल्याएको हो।
ती ‘हाइप्रोफाइल’ तस्कर भने हैनन्। नेपालबाट भारतीय तस्करको सम्पर्क सूत्रलाई जिम्मा लगाउने तस्कर हुन्। यी दुवै तस्करका ‘नाइके’ नेपाल र भारतमा रहेको प्रहरीको भनाइ छ। उनीहरूबारे प्रहरी अनुसन्धान चलिरहेको छ।
२०६४ सालदेखि कायम रहेका सीमाका ८७ वटा स्थायी बोर्डर आउट पोस्ट (बिओपी)लाई सशस्त्र प्रहरी मुख्यालयले २०७५ सालयता अस्थायी बनाएको छ। ती ८७ स्थायी पोस्ट प्रत्येकमा ५० जनाको दरबन्दी थियो।
छिमेकी भारतसँग लिम्पियाधुरा-कालापानीको विवाद बल्झिएर सरकारको ध्यान फेरि सीमातिरै फर्केको अवस्था छ। कोरोनाका कारण पनि सरकारले सीमामा सशस्त्र प्रहरी पोष्टको संख्या बढाएको छ। अहिले भारतसँगको सीमाक्षेत्रमा सशस्त्रका १७० बढी अस्थायी पोस्ट छन्। यी पोस्ट प्रत्येकमा बढीमा ३५ जना जनशक्ति छ।
अस्थायी भइसकेपछि जति थोरै जनशक्ति राखे पनि फरक पर्दैन। स्थायी बिओपी हुँदा तोकिएको दरबन्दी ५० जना खटाउनै पर्ने नियम थियो।
अहिले बिओपीमा २५-२५ जना जति खटाए पनि हुने अस्थायी मापदण्ड सशस्त्रको छ।
सीमा नाकामा २२१ बिओपी बनाउनुपर्ने मन्त्रिपरिषदको निर्णय नै छ। गत मंसिर २० गते मन्त्रिपरिषदले बिओपी संख्या बढाउने निर्णय गरेको थियो। यसबेला भारतले लिपुलेक-कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको थियो।
भारतले सीमानाकामा ५ सय ३० पोस्ट राखेको छ।
कारागार सुरक्षा हेरिरहेको सशस्त्र प्रहरी बल अहिले सीमा सुरक्षामा केन्द्रित गरिएको छ। औद्योगिक सुरक्षा, विकास निर्माणलगायत ठाउँका सशस्त्रका युनिटहरू पनि उठिसकेका छन्। १३ वटा भन्सार राजश्व गुल्म र ५ वटा राजश्व चुहावट नियन्त्रण गुल्म यसै आर्थिक मसान्तबाट हटेका छन्।
यी गुल्म हटाउनको उद्देश्य बिओपीलाई बलियो र अधिकारसम्पन्न बनाउँदै जानु पनि हो।
यो पनि हेर्नुहोस्
‘उसले बर्दीमै प्राण त्याग्यो, मलाई गर्व छ’
केराउको गाडा रोकेपछि तस्करले मारेका थिए असई विक र जवान साउदलाई
कम्मरबाट पेस्तोल निकाल्न नपाउँदै असई गोविन्दको हत्या भएको प्रहरी निष्कर्ष