दाङमा कोरोना भाइरसबाट एक निजामती कर्मचारीको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दूधरास ५३ वर्षीय हिराबहादुर डाँगीको बिहीबार राति अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
उनी जिल्ला मालपोत कार्यालय घोराहीमा नायव सुब्बा थिए। डाँगी घोराहीमा डेरामा बस्दै आएका थिए। कोरोना संक्रमण पुष्टि भएपछि उनी डेरामै आइसोलेसनमा बस्दै आएका थिए।
तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य संयोजक विमल केसीका अनुसार बिहीबार राति ११ बजेतिर सास फेर्न गाह्रो भएपछि उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको थियो। डाँगी सुगरको पनि औषधी खाइरहेका थिए।
कोरोना अस्पतालमा आइसियू बेड खाली नभएपछि उनलाई बाँके रिफर गरिएको थियो। अक्सिजनसहितको एम्बुलेन्समा राखेर लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको बेलझुण्डी अस्पतालकी एक नर्सले जानकारी दिइन्।
दाङका ५५ वर्षीय पुरुषको बाँकेमा मृत्यु
दाङका कोरोना संक्रमित ५५ बर्षीय एक पुरूषको बिहीबार बेलुका बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ।
उनी दाङको लमही नगरपालिका वडा नं। ५ का हुन। बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार असोज २७ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिनदेखि नै उनलाई नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरको कोरोना यूनिटमा राखेर उनको उपचार सुरू गरिएको थियो।
उनको स्वास्थ्यमा सुधार नआएपछि उपचारका क्रममा बिहीबार बेलुका पाँच बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
पारिवारीक स्रोतका अनुसार ती पुरूष उच्च रक्तचाप र मधुमेहजस्ता रोगहरूबाट पीडित थिए।
योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके जिल्ला लगिएका १६ जनाको मृत्यु भएको बाँकेका फोकल पर्सन श्रेष्ठले जानकारी दिए।