ट्रष्टभित्र पस्दा नेटमा तल्याङ्तुर्लुङ झुन्डिएका काँक्रा, करेला, टमाटर टाउकोमा ठोक्किन्छन्। त्यही ट्रष्टभित्र भेटिन्छन्, २५ वर्षीय शिशिर रावत।
बाहिर दिउँसोको चर्को घाम छ। रावत भने ट्रष्टभित्र काम गर्न व्यस्त छन्। हामी पुग्दा उनी टमाटर टिप्दै थिए।
चाडपर्व नजिकै आएकाले उनलाई भ्याइनभ्याई छ। बजारमा तरकारीको अधिक माग छ। उनको तरकारीबारी तुलसीपुर बजारदेखि १२ किलोमिटर जति दक्षिणमा पर्छ।
तुलसीपुर-अमिलिया सडक खण्डअन्तर्गतको तुलसीपुर उपमहानगरपालिका-१३ बखरीयामा उनले आफ्नै जग्गामा तरकारी खेती गरेका छन्।
अहिले उनले १० कठ्ठा जग्गामा तरकारी लगाएका छन्। त्यसमा उनले प्लाष्टिकको टनेल हाउस पनि बनाएका छन्। २-३ कठ्ठाका दरले फरक-फरक तरकारी लगाइएको छ।
‘अलि बढी टमाटर र काँक्रा छ, कम करेला कम छ,’ शिशिरले भने, ‘बजारलाई मध्यनजर गर्दै हामी तरकारी लगाउँछौं।’
उनको बारीमा यतिखेरै सबै तरकारी बेच्न तयार भएका छन्। दैनिक साढे दुई क्विन्टलसम्म बिक्री तरकारी बिक्री हुन्छ। अन्त लैजानु पर्दैन, तुलसीपुरमै सबै बिक्री हुन्छ। काँक्रा किलोको ३० देखि ३५, टमाटर ५० देखि ६० र करेला पनि लगभग त्यस्तै मूल्यमा बिक्री हुन्छ। व्यापारीले तरकारीको मूल्य आफैं गर्ने हुँदा तरकारीको भाउ तलमाथि भइरहन्छ। त्यसले गर्दा किसान मर्कामा पर्ने गरेको शिशिरको बुझाइ छ।
‘किसानबाट व्यापारीले खरिद गरेर लैजाँदा पनि आफैं मूल्य गर्छन् र बिक्री गर्दा पनि आफैं मूल्य निर्धारण गर्छन,’ शिशिरले थपे, ‘जबसम्म किसानले आफूले उत्पादन गरेको मूल्य आफैं गर्न पाउँदैनन्, तबसम्म किसानको अपेक्षित उन्नति हुने अवस्था रहँदैन।’
फुटकरमा ५-१० रुपैयाँ सस्तो पर्ने भए पनि गाउँघरमा निकै कममात्रै तरकारी बिक्री हुने उनले बताए।
शिशिर आफ्ना बुवा नवराज रावतबाट प्रभावित भएर कृषि पेशा अँगालेका हुन्। नवराजले व्यावसायिक रूपमा कृषि खेती गर्न लागेको १७-१८ वर्ष पुगिसकेको छ।
उनी बखरिया क्षेत्रमै सिजनअनुसार व्यवसायिक रूपमा तरकारी खेती गर्ने पहिलो व्यक्ति हुन्।
तरकारी बेचेरै उनले दुई विघा जति जग्गा जोडे। गाउँमै झन्डै एक करोड बढीको आधुनिक र पक्की घर बनाए। छोराको रूचीअनुसार जेठो र कान्छो छोरालाई झन्डै एक करोड रुपैयाँ खर्चेर अमेरिका पठाए।
दाइ र भाइले विदेश रोजे पनि नवराजका साँइला छोरा शिशिरले त्यता जान रूची गरेनन्।
दाङको घोराहीमै आइएसीएजी पढे। कृषि कर्ममा सैद्धान्तिक ज्ञानले मात्रै हुँदैन।
त्यसपछि उनी काठमाडौं माछापोखरीस्थित सलम एग्रीकल्चरमा गए। तीन महिला प्राविधिक तालिम लिए। सानैदेखि बुवासँगै कृषि कर्म गर्दै आएका उनलाई त्यो तालिमले नषाँ ज्ञान दियो। जीवनको टर्निङ पोइन्ट बन्यो।
कोर्ष पुरा गरेपछि शिशिर उत्साह बोकेर घर फर्किए। बुवाले गर्दै आएको खेतीलाई थप परिष्कृत गरे, प्रविधिसँग जोडे। टनेल हाउस बनाए। थोपा सिँचाइको प्रबन्ध गरे। धागोको सहायतामा तरकारी फलाउन सुरू गरे।
सबै काम परिवारका सदस्य मिलेर गर्छन्। नभ्याउने अवस्था आएमात्रै कहिलेकाहीँ ज्यालामा मान्छे लगाउँछन्।
एक सिजनमा कम्तिमा आठदेखि दश लाख बराबरको कारोबार गर्ने गरेको शिशिरले बताए। त्यसबाट खर्च कटाएर ६० प्रतिशत फाइदा हुन्छ। तरकारी खेतीबाट वर्षमा कम्तिमा २२ लाख कमाउने गरेको उनले जानकारी दिए।
‘मलाई विदेशिन मन परेन। बरू मैले बुवाको जिम्मेवारी लिनुपर्छ भन्ने लाग्यो। बुवाको प्रेरणा जो थियो,’ शिशिरले भने, ‘बुवाको पेसालाई साथ र काँध दिनुपर्छ भन्ने लाग्यो। आज बुवा खुसी हुनुहुन्छ र म पनि खुसी छु।’
सीप र प्रविधि सिक्नमात्रै विदेश जानु उपयुक्त हुने शिशिरको तर्क छ।
‘म कुनै दिन विदेश गएँ भने निश्चित अवधिका लागि ती कुरा सिक्नमात्रै जानेछु,’ उनले भने,‘कि म घुम्नमात्रै जाने छु। विदेशमा श्रम बेच्ने कहिल्यै जाने छैन।’
दाजुभाइले विदेशबाट कहिलेकाहीँ जिस्काउँदा आफूले त्यही जवाफ दिने गरेको शिशिरले बताए।
नेपाल कृषिप्रधान देश भनेर पढेको भए पनि व्यवहार फरक रहेको उनको अनुभव छ।
‘सानो छँदादेखि नै भन्ने गरिन्छ- बाबु माटो छुनु हुन्न है। पछि पढेर ठूलो मान्छे बन्नु पर्छ,’ शिशिरले भने, ‘माटो छुनुहुन्न, फोहर हुन्छ भन्ने जुन सोच छ त्यो सोचलाई हामीजस्ता युवाले चिर्नुपर्छ।’
कृषि काम गर्नेहरू असल हुँदैनन्, राम्रा हुँदैनन् वा तुच्छ पेसा हो भन्ने चिन्तनले कृषिको विकास नहुने उनले बताए।
‘हामीजस्ता युवाले माटोमा पसिना बगाएर सुन फलाउन सकिन्छ भन्ने उदाहरण पेस गर्नसक्नु पर्छ,’ उनले भने।
शिशिरले दाङका अन्य किसानलाई सहज होस् भनेर टनेल, प्लाष्टिक हाउस, नेट हाउस, ग्रिन हाउस, प्लाष्टिक मल्चिङ, थोपा सिँचाइजस्ता कुरा उपलब्ध गराउने पसल पनि खोलेका छन्। बाहिनी चोकमा रहेको उनको पसलमा मल र बिउबाहेक आधुनिक तरकारी खेतीका लागि चाहिने सबै सामग्री पाइन्छन्। यसअघि दाङमा ती चिज पाइने पसल थिएन।
पसल खोलेको एका महिनामै किसानको आकर्षण बढेको छ। उनले तुलसीपुरका तीन ठाउँका फर्ममा प्रविधि जडान गरिसकेका छन्।
खेतीपातीका धेरै कुरा शिशिर इन्टरनेटबाट सिक्छन्। युट्युब हेरेर नजानेको कुरा विज्ञ तथा अग्रजलाई सोध्छन्।
आफूले जानेको सीप अन्य किसानलाई पनि सिकाउने गर्छन। प्रविधिको प्रयोग गर्दा पहिले खर्च लागेजस्तो देखिए पनि त्यसले घाम, पानी, चिसोबाट असर नगर्ने भएकाले फाइदा नै हुने उनले बताए।
किसानले सुरूको खर्चमात्रै नहेरेर प्रविधिको प्रयोग गर्दा हुने उत्पादन, काम गर्दा हुने सजिलो र लाग्ने श्रमिकको संख्यासमेत आधा बढी कटौती हुने हुँदा प्रविधिको प्रयोगले फाइदा हुने उनको तर्क छ।
‘हेर्नुस् न, अब जाडो सिजन आउन थालिसक्यो। जाडोमा उत्पादन दिने बेला सबै बोट तुसारोले मरेपछि घाटा हुन्छ कि हुँदैन,’ शिशिरले भने ‘तर टनेल बनाएर खेती गरे त्यसले तरकारीलाई कुनै असर गर्दैन।’
त्यसका साथै थोपा सिँचाइ प्रविधि जडान गर्दा दर्जनौं मानिसले गर्ने काम एकै जना मानिसले सक्ने उनले बताए।
प्रविधिको प्रयोग गरेर गरिने खेतीमा विषादी कम हुने, रोग-किराको प्रकोप पनि कम हुने, झार पनि नजाग्ने, मल पनि धेरै नचाहिनेजस्ता फाइदा हुने तथा श्रमिकको खर्च कम लाग्ने शिशिरले बताए। टनेल ८-१० वर्ष टिक्ने हुँदा त्यतिञ्जेल किसानले मनग्य लाभ लिन सक्ने उनको बुझाइ छ।
शिशिर नजानेको कुरा सिक्न अरू किसानको खेतबारीमा पनि जान्छन्।
‘मैले जानेको उहाँहरूलाई सिकाउँछु र उहाँहरूले नयाँ केही गरेको भए सिकेर आउँछु,’ उनले भने।
कोरोना महामारी रोक्न लकडाउन हुँदा धेरैले कौसी खेती गरे। करेसाबारीमा तरकारी रोपे। यसले कृषिको महत्व उजागर गरिदियो।
समाजमा आधुनिक कृषिमा लाग्ने युवा पनि तयार हुनुपर्छ। त्यसका लागि कृषिमा प्रविधिको प्रयोग आवश्यक रहेको शिशिरले बताए।
काठमाडौंमा प्रयोगात्मक अभ्यासका लागि गएको बेला चिनेका युवालाई उनले आफ्नै गाउँमा ल्याएर खेती गर्न लगाएका छन्।
‘यहाँ आएर तरकारी खेती गर्नेहरू कोही भक्तपुरका छन्। कोही झापाका छन्,’ उनले भने ‘त्यसले गर्दा गाउँघरमा कृषि कर्मप्रतिको आकर्षण बढ्दै गएको छ।’
बुवा नवराजले बनाइदिएको प्लेटफर्ममा टेकेर आज शिशिर आफू स्थापित हुँदै गएका छन्, सँगै अरूलाई पनि कृषि कर्ममा लाग्न प्रेरित गरिरहेका छन्।
‘म निकै खुसी छु। म मेरो कर्ममा रमाइरहेको छु,’ शिशिरले भने ‘अझैं मेरो व्यवसायलाई कसरी माथि उठाउने र आसपासका सर्वसाधारण किसानलाई कसरी प्रविधिमा जोड्ने भनेर लागि पर्नेछु।’