जाजरकोटमा माटोको ढिस्कोले पुर्दा एक किशोरीसहित दुई जनाको मृत्यु भएको छ थप दुई जना महिला घाइते भएका छन्।
घाइतेमध्ये छेडागाड नगरपालिका वडा नं. ३ दशेरा चुवा निवासी १७ वर्षीया किशोरी आरती दाहाल र ३० वर्षीया सितला जैसीको उपचारका क्रममा दशेरा प्राथमिक स्वास्थ्य चौकीमा मृत्यु भएको छ।
दाहालको दिउँसो १२ बजेर २५ मिनेटमा र जैसीको विहान ११: १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी किशोर श्रेष्ठले सेतोपाटीलाई बताए।
उक्त घटनामा परी सोही ठाउँकी २४ वर्षीया सरिता जैसी र छेडागाड नगरपालिका वडा नं. ४ की ५१ वर्षीया धनसरा चदरा घाइते भएका छन्।
घाइते दुबै जनालाई थप उपचारका लागि साढे १२ बजेतिर नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी सुर्खेत लगेको छ।
प्रहरी स्रोतका अनुसार बाहिरबाट नियाल्दा घाइते जैसी र चदराको अवस्था सामान्य छ। भित्री चोट हुन सक्ने आशंकामा उनीहरूलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत लगिएको प्रहरी अधिकारीले बताए।
शनिबार बिहान साढे ८ बजेतिर दसैंका लागि घर लिप्ने माटो खन्न खड्डा (खाडल)मा पसेर माटो खनिरहेका चार जनालाई माथिबाट खसेको ढिस्कोले पुरेको थियो।
अझै पनि गाउँ घर र दूरदराजका भूगोलमा चाडपर्वमा कमेरो तथा सेतो माटोले घर लिप्ने प्रचलन रहेको छ।
तर, त्यसरी माटो खन्ने क्रममा वर्षेनी धेरै महिलाहरूको ढिस्कोले पुरिएर मृत्यु हुने गरेको छ।
कतिपय अंगभंग भई आस्रित जीवन गुजार्न बाध्य भएका छन्।