बडादसैंको नवौं दिन आज देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदैछ।
घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइन्छ।
महानवमीका अवसरमा आज दसैंघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ।
शाकाहारीहरूले भने कुभिन्डो, घिरौंला र मूला लगायतको बलि दिने र नरिवल तथा पायस चढाउने गर्छन्। पुराण अनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ।
आज कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ। महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने चलन छ।
हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि वर्षमा एक पटक महानवमीको दिन मात्र खोलिन्छ। तर, यसपालि कोभिड-१९ का कारण यो प्रभावित हुन पुगेको छ।
हनुमानढोकाको दसैंघर लगायत कतिपय समुदायले शनिबार महाअष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आ-आफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाएका छन्।
आज नवरात्रीको नवौं दिन दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरी मनाइँदैछ। आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ।
सिंहको वाहनमा बिराजमान यी देवीको प्रिय वस्तु कमलको फूल हो। माताको साधना गर्नाले यस लोक र परलोक दुवैतर्फ मोक्ष प्राप्तगर्ने विश्वास छ।