हरेक वर्ष दसैं टीकाको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा ब्रम्हायणी जात्रा लाग्छ। यस वर्ष कोरोना महामारीको कहरबीच पनि मध्यरातमै यो जात्रा सुरू भएको छ।
नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा टीकाको दिन नवदुर्गा प्रकट हुने जनविश्वास छ। अरू बेला भव्य भीड लाग्ने यो जात्रामा यसपालि केही भक्तालु मात्र उपस्थित छन्।
ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुर थिमी, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौंदेखिका भक्तजन आउँछन्। मन्दिरमा जमरा, हाँसको फुल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने चलन छ।
व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ। यसो गरेमा मनोकांक्षा पूरा हुने, पाप नष्ट हुने, धर्म प्राप्त हुने जनविश्वास छ।
गठेमंगलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय अर्थात राँगोलाई नवमीका रातदेखि नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मत्ताएर अबिर दलेर दौडाउँदै, लखेट्दै ब्रह्मायणी मन्दिर पुर्याएर बध गरेपछि रातिदेखि नै यो जात्रा सुरू हुन्छ।
बध गरिएको खःमेय् राँगोको एक टुक्रा मासु लिन हजारौं व्यक्तिको भीड लाग्थ्यो। सो मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई बालिन्छ। लक्ष्मीपूजाका दिन सो धूप बालेमा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीबास हुने जनविश्वास छ।