कोरोना संक्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार साँझ निषेधाज्ञापत्र सार्वजनिक गरेका हुन्।
तराईमा भव्यताका मनाइने दीपावली, छठ र वाग्मती नदी किनारमा लाग्ने पूर्णिमा मेलालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो।
प्रजिअ यादवले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रामक रोग ऐन २०२० को दफा ३ र ४ अनुरुप जिल्लाभरि लागु हुने गरी निषेधाज्ञा जारी गरेका हुन्।
आगामी मंसिर १७ गतेसम्मका लागि जारी निषेधाज्ञा पालन गराउन जिल्ला समन्वय समितिको कार्यालय, सबै स्थानीय तह, राजनीतिक क्षेत्र, उद्योगवाणिज्य-व्यापारिक संघसंस्था, सामाजिक संघसंस्था, सर्वसाधारण एवं सरोकार पक्षसँग जिप्रकाले अनुरोध गरेको छ।
कोरोना संक्रमणबाट रौतहटमा अहिलेसम्म १४ जनाले ज्यान गुमाइसकेको र १७४ संक्रमित छन्।
जिल्लाभरि सार्वजनिक खेलकूद, नाच, तमासा, मेला, भीडभाड हुने कार्यक्रम, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, सभा जुलूस र प्रदर्शन गर्नमा जिप्रकाले रोक लगाएको छ।
मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिक तथा सांस्कृतिकस्थलमा पनि दैनिक नित्य, पूजाराधनाबाहेक गतिविधि सञ्चालन नगर्न आदेशमा भनिएको छ।
(रासस)