बर्दियाबाट नरभक्षी बाघ नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले आइतबार दिउँसो डार्ट गरी बाघ नियन्त्रणमा लिएको हो।
प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार नियन्त्रणमा लिइएको बाघ बर्दिया राष्ट्रिय निकुञ्जको केजमै राखिएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले निकुञ्जको मध्यवर्ती क्षेत्र राजीपुर क्षेत्रबाट बाघ नियन्त्रणमा लिइएको सेतोपाटीलाई बताए।
कात्तिक १५ गते राजीपुर क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएपछि कात्तिक १६ गतेदेखि निकुञ्जका प्राविधिक खटाएको र झन्डै एक हप्ता लामो प्रतीक्षापछि डार्ट गरी पाटे बाघ समात्न सफल भएको उनले बताए।
गेरुवा गाउँपालिका-४ राजीपुरका ५८ वर्षीय लाहानु थारूको बाघको आक्रमणबाट मृत्यु भएको थियो।
‘१६ गतेदेखि नै हामीले क्यामेरा जडान गरी निकुञ्जबाट प्राविधिक टोली खटाएका थियौं,’ श्रेष्ठले भने, ‘बाघको पहिचान गरेर उसलाई डार्टिङ गरी समातेर निकुञ्जको केजमा ल्याएर राखेका छौं।’
नियन्त्रणमा लिइएको भाले बाघलाई कहाँ लैजाने भन्ने छलफल सुरू भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए।
‘जाउलाखेल जुमा पठाउने कि भनेर छलफल भइरहेका छन्,’ श्रेष्ठले भने ‘त्यहाँ पनि भाले बाघको संख्या धेरै रहेको हुँदा त्यहाँ लैजाने कि के गर्ने भन्ने एकिन भइसकेको छैन।’
जाउलाखेल चिडियाखानाले लैजान सम्भव नभए उक्त बाघलाई तत्काल बर्दिया निकुञ्जको ठाकुरद्वारास्थित केजमा राखिने श्रेष्ठले बताए। उनले त्योबाहेक अन्यत्र लैजान सम्भव नरहेको पनि जानकारी दिए।
पछिल्लो समय बर्दियामा बाघले घर पालुवा जनावरसँगै मान्छेमाथि आक्रमण गर्ने र ज्यान लिने क्रम बढेपछि सर्वसाधारण त्रसित बनेका थिए। बाघको आक्रमणबाट बर्दिया मध्यवर्ती क्षेत्रमा झन्डै डेढ महिनाको अवधिमा ५ जना सर्वसाधारणको मृत्यु भइसकेको छ।
बाघले आतंक मच्चाएपछि स्थानीयको आग्रहमा निकुञ्जले त्यसको खोजी र पहिचान गरी नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले सेतोपाटीलाई बताए।
यो पनि पढ्नुस्: नरभक्षी बाघ खोज्न बर्दियाको वनमा १३ वटा क्यामेरा जडान