कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ मा गरिएको लकडाउन मंगलबारदेखि हटेको छ।
लकडाउन अन्त्य भएसँगै सेवा, बजार र यातायात पूर्ववत् रुपमा खुलेको छ।
सङ्क्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले यही १७ गतेदेखि एक साताका लागि बागलुङ बजारमा लकडाउन गरेको थियो।
जिल्ला प्रशासन कार्यालयले तत्काललाई लकडाउन हटेपनि केही प्रतिबन्धहरू भने कायमै रहेको जनाएको छ।
अर्को निर्णय नहुञ्जेलसम्मका लागि शैक्षिक संस्था, तालिम, सम्मेलन, गोष्ठी, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, पुस्तकालयलगायत भीडभाड हुने क्षेत्र बन्द रहने जनाइएको छ।
होटल, रेष्टुराँमा पनि सामाजिक भोज, भेला आदि गर्न नपाइने भएको हो।
छोटो तथा लामो दुरीका सवारीसाधन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्डअनुसार चलाउन प्रशासनले अनुरोध गरेको छ। सबै सेवा, व्यवसाय तथा कार्यहरू सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्न भनिएको छ।
यस्तै नजिकिँदै गरेका तिहारलगायतका पर्व आफू रहेकै स्थानमा घर परिवारका सदस्यसँग मात्र मनाउन प्रशासनले आग्रह गरेको छ।
देउसीभैलोसहित आतिसबाजी, पटकालगायत विष्फोटक पदार्थको बिक्री र प्रयोगमा पनि रोक लगाइएको छ।
(रासस)