दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मृत्यु भएका तीन जना किशोरको सनाखत भएको छ।
दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार मृतक तीनै जना किशोर राप्ती गाउँपालिकाका हुन्। राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाका १६ वर्षीय मनोज गाहा, राप्ती २ लालमटियाका १८ वर्षीय कसम पुन र राप्ती ८ पिपरीका १८ वर्षकै दिनेश घर्तीको सवारी दुर्घटनामा मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा मंगलबार बेलुका पौने ८ बजेतिर ना ६ ख ३३४४ नम्बरको ट्रकले रा ५ प ६७३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन युवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी खड्काले बताए।
प्रहरीका अनुसार मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ आइरहेको थियो भने ट्रक पश्चिमबाट पूर्व भालुवाङतर्फ जाँदै थियो।
घाइते तीनै जना किशोरलाई उपचारका लागि लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार मोटरसाइकल १६ वर्षीय मनोजले गाहाले चलाएका थिए।
‘मोटरसाइकल १६ वर्षीय किशोरले चलाएको देखिएको छ,’ एसपी चन्दले भने ‘उनीसँग सवारी चालक लाइसेन्स पनि थिएन।’
तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ।
‘दुर्घटनास्थलमा बाटो पनि घुमाउरो छैन, सिधा छ,’ एसपी चन्दले भने।
एसपी चन्दले दुर्घटनामा परेर मृत्यु भएका तीनै जना किशोरसँग कुनै पनि कागज पत्र वा पर्ससमेत फेला नपरेको बताए।
‘उहाँहरू दुर्घटनामा परेपछि पहिला त्यहाँ पुग्नेहरूले पैसा तानेर लगिदिएजस्तो देखिएको छ,’ चन्दले भने, ‘प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ।’
मृतक तीनै जनाको साथमा पहिचान खुल्ने कुनै वस्तु वा डकुमेन्ट समेत फेला नपरेको हुँदा सनाखत हुन ढिलो भएको चन्दले बताए।
दुर्घटनापछि ट्रक पनि सडकमै पल्टिएको हुँदा ट्रक चालकले सकभर जोगाउन प्रयास गरेको प्रहरीको अनुमान छ। ट्रक चालक फरार रहेकाले त्यसबारे अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले ट्रक चालकलाई सवारी ज्यान शीर्षकमा मुद्दा चलाउने जानकारी दिएको छ।