दाङका तीन वटा प्रहरी चौकीमा महिला प्रहरी नेतृत्वमा पुगेका छन्।
दाङका प्रहरी चौकी नर्ती, सतबरिया र सर्रामा महिला प्रहरीलाई नेतृत्वमा खटाइएको हो।
नर्ती र सतबरियामा महिला नेतृत्वलाई ‘पब्लिक रेस्पोन्स’ राम्रो मिलेपछि सर्रा प्रहरी चौकीमा पनि महिला प्रहरीलाई नै नेतृत्व गर्न पठाइयो।
जिल्ला प्रहरी प्रमुख तथा एसपी गणेश चन्दले प्रहरीमा पनि महिला सशक्तिकरण गर्न भन्दै महिलालाई नेतृत्व प्रदान गर्ने नीति लिएको बताए।
‘अवसर पाए महिलाले नेतृत्व दिन सक्छन् भन्ने सन्देश दिन हामी चाहन्छौं,’ उनले भने, ‘महिला कमजोर छैनन् भन्न र उनीहरूको सशक्तिकारण गर्न आवश्यक छ।’
नर्तीमा ३५ वर्षीया शोभा गिरी र सतबरियामा ४० वर्षीया लक्ष्मी क्षत्रीले कमाण्ड गरिरहेका छन्। उनीहरू दुबै जना असई हुन्।
जिल्लामा सबैभन्दा कान्छो उमेरकी महिलाले प्रहरी चौकीको नेतृत्व सम्हाल्ने अवसर भने सपना खड्काले पाएकी हुन्। उनी हप्ता दिनअघि सर्रा प्रहरी चौकीको नेतृत्व सम्हाल्न आइन्।
अचेल मोटरसाइकल चलाउन सिकिरहेकी छन्। सहर-बजारका कार्यालयमा भ्यान हुन्थे। उनले भ्यान चलाउन जानेकी छन्। गाउँघरका कच्ची सडकमा भने मोटरसाइकल बढी चल्छन्।
२४ वर्षीया खड्कालाई अब सर्रा प्रहरी पोष्टको क्षेत्राधिकारभित्र रहेका गाउँ टोलका सुरक्षा गर्नुछ। घोराहीको १६, ४, ५ र ७ नम्बर वडा सर्रा प्रहरीको मातहतमा छन्।
यी चार वडामध्ये अधिकांश गाउँ घरमा पर्छन्। सबै ठाउँमा मोटरबाटो छैन। चार पाङ्ग्रे पुग्न नसक्ने ठाउँमा दुई पाङ्ग्रेमात्रै चलाउन मिल्छ। प्रहरीलाई रात-दिन जतिबेला पनि त्यस्ता गाउँबस्तीमा गस्ती जानुपर्छ। त्यसैले, मोटरसाइकल सिकिरहेको उनले बताइन्।
तुलसीपुर-घोराही सडक खण्डमा पर्छ सर्रा। यो घोराही उपमहानगरपालिका-१६ मा अवस्थित छ। तुलसीपुर-घोराही सडक खण्डको सबैभन्दा धेरै सवारीको चाप व्यस्त रहने र दुर्घटना बढी हुने ठाउँ पनि यही हो। तुलसीपुरबाट भागेर जाने र घोराहीबाट भागेर जाने मुख्य सडक खण्ड भएको हुँदा प्रहरीले यो ठाउँमा उच्च निगरानी राख्नुपर्छ।
अस्थायी प्रहरी पोष्ट सर्रामा खड्कासहित नौ प्रहरी छन् ।
सर्रामा चार महिला र पाँच पुरूष प्रहरी खटिन्छन्।
निकट भविष्यमा यहाँ सबै महिलामात्रै खटाउने तयारी गरिएको जिल्ला प्रहरी पमुख एसपी चन्दले बताए।
‘नयाँ सरुवा भएका महिला इञ्जार्चले यो ठाउँको भूगोलको पहिचान गरिसकेपछि यहाँका सबै पुरूष प्रहरी साथीहरू अन्यत्र खटाइने छ,’ एसपी चन्दले भने, ‘त्यसपछि यहाँको सुरक्षाको सम्पूर्ण जिम्मा महिलाकै नेतृत्वमा रहने छ।’
सपनाले प्रहरीमा जागिर सुरू गरेको चार वर्षमात्रै पूरा भयो। सुरूमा उनी नेपालगञ्ज तालिम केन्द्रमा प्रशिक्षकको रूपमा बसेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय दाङ आएपछि महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको नेतृत्व सम्हालिन्। सेवा प्रवेशको चार वर्षमा चौकीको नेतृत्व गर्न पाइन्।
‘इञ्चार्ज भएपछि अलिकति बढी जिम्मेवारी थपिएजस्तो लाग्ने रहेछ,’ सपनाले भनिन्, ‘यहाँ शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी मेरै हो र मेरै कमाण्डमा खटिएको प्रहरीलाई मैले जिम्मेवार बनाउनुपर्छ भन्ने लाग्ने रहेछ।’
जिल्लामा बस्दा उनले सर्रालाई अलि बढी गुण्डागर्दी हुने, लागुपदार्थ सेवन र घरेलु हिंसा बढी हुने ठाउँको रूपमा बुझेकी हुँदा त्यो नियन्त्रण गर्नुलाई चुनौती ठानेकी छन्।
‘जिल्लामा बस्दा मैले देखेकी थिएँ, यहाँबाट अत्यधिक घरेलु हिंसाका केसहरू महिला सेलमा पुगेका हुन्थे,’ सपनाले थपिन्, ‘मदिरा सेवनपछि हुने झै-झगडाका केसहरू पनि छन्, ती सबैलाई नियन्त्रणमा राख्नु मेरो जिम्मेवारी छ।’
त्यस्ता घटनालाई नियन्त्रण गर्न र भूगोल पहिचानका लागि अहिले उनी सहकर्मीलाई लिएर मोटरसाइकल गस्तीमा निस्कने गर्छिन्।
सपनाले आफ्नो नेतृत्वमा क्यूआरटी (क्विक रेस्पोन्स टिम) पनि तयार पारेको बताइन्।
इञ्चार्ज भएर आउनासाथ सपनाले घोराही १६ का वडाध्यक्ष, त्यस क्षेत्रका राजनीतिक दल, नागरिक समाज, ज्येष्ठ नागरिक लगायतसँग छलफल पनि गरिसकेकी छन्।
‘म त समाजको साथ-समर्थन लिएर गलत कामको चिरफार गर्दै अगाडि बढ्ने हो,’ सपनाले भनिन्, ‘कोही अन्यायमा नपरोस् र गल्ती गर्ने कोही उम्किन नपाओस् भन्ने मेरो धारणा छ।’
सपनाको बुझाइमा घरेलु हिंसा वा यौन हिंसामा परेका महिलाहरू डर र संकोचका कारण आज पनि थिचोमिचो सहेरै बसिरहेका छन्। अन्यायमा परेका महिलालाई उनको आग्रह छ- मसँग आएर ढुक्कले कुरा राख्नु। यौन हिंसामा परेका महिलालाई पुरूष प्रहरीभन्दा महिला प्रहरीसँग कुरा गर्न सजिलो हुने उनी ठान्छिन्।
अन्यायमा परेका महिलालाई न्याय दिलाउन आफू लागिपर्ने उनले बताइन्।
‘पीडित महिलालाई सहानुभूति हैन समानुभूति र न्याय दिलाउन कुनै कसर बाँकी राख्ने छैन,’ सपनाले दृढता व्यक्त गरिन्।
चार वर्षे जागिरको दौडानमा सपनाले ‘साइको सोसल काउन्सिलिङ’को तालिम र यसबारे काम पनि गरेकी हुँदा त्यो झनै सहज हुने उनको विश्वास छ ।
‘प्रहरीले डर त्रास देखाउने हैन,’ सपनाले थपिन्, ‘सुरूमा पीडितको कुरा प्रहरीले ध्यानपूर्वक सुनिदियो भने मात्रै पनि पीडितले धेरै राहातको महसुस गर्ने गर्छन् र म त्यो अभ्यास गर्ने छु।’
उनले प्रहरी संगठनमा महिला र पुरूष हुँदैमा भेदभाव नहुने बताइन्।
‘जति पुरूषले तालिम गर्छन, रनिङ गर्छन् उति हामी महिलाले पनि तालिम गर्नुपर्छ,’ सपनाले थपिन्, ‘संगठनमा जागिर खाएपछि काम त सबैले बराबर गर्ने हो।’
तालिम लिँदादेखि अहिलेसम्म आइपुग्दा महिलाई प्रहरी संगठनमा सम्मान गरेको अनुभूति उनलाई छ।
बर्दियाकी सपनाले बाँकेको कोहलपुरबाट प्लस टु उत्तीर्ण गरेकी थिइन्। प्रहरी बन्ने रहर भने स्कुल पढ्दादेखिकै हो।
‘चिटिक्क परेर प्रहरी पोशाकमा हिँडेको देख्दा मलाई पनि कस्तो प्रहरी हुन रहर लाग्थ्यो,’ सपनाले प्रहरी संगठनमा आउनुको कारण खुलाउँदै भनिन्, ‘त्यो बाहेक गाउँघरकै प्रहरी दाजुभाइ घर बिदामा आउँदा उहाँहरूको छुट्टै शान र मान हुन्थ्यो। त्यसले पनि मलाई प्रहरी बन्न प्रेरित गर्यो।’
त्यही रहर र चाहनाले सपना आफ्नो गाउँबाट महिला प्रहरी बन्ने पहिलो व्यक्ति बन्न सफल भइन्। महिला प्रहरी असई त अझै पनि उनको गाउँ ठाउँमा अरू कोही नभएको सपनाले बताइन्। बिदाको समयमा गाउँघरमा जाँदा बेग्लै इज्जत गर्ने गरिएको उनले बताइन्।
‘ममात्रै हैन, मेरो आमा, बुवा र हजुरआमा गाउँघर डुल्दा पनि ऊ असईको आमा, बुवा वा हजुरआमा आयो भन्दा रहेछन्,’ सपनाले भनिन्, ‘अहिले आएर मेरै कर्म र नामले बाआमालाई चिनाउन पाउँदा गर्व लाग्छ।’
सपनाको बुझाइमा गाउँघरमा पहिले उनलाई हेर्ने दृष्टिकोण र अहिले असई भइसकेपछि हेर्ने दृष्टिकोणमा समेत धेरै फरक आएको छ।
‘म धेरै बिदा त पाउँदिनँ, कहिलेकाहीँ बिदा पाउँदा घर जान्छु र त्यसरी जाँदा गाउँ समाजले गर्ने व्यवहारमा धेरै भिन्नता पाउँछु,’ सपनाले भनिन्, ‘पहिला मेरो कुरा गाउँ समाजका कसैले सुन्दैन थिए। वास्ता पनि गर्दैन थिए। तर, आज केही पर्नासाथ सपनालाई सोधम् न उ त असई हो, धेरै कुरा थाहाँ पाउँछ भन्ने गर्छन्।’
त्यतिमात्रै हैन, गाउँमा कुनै पनि समस्या आउनासाथ फोन गरेरै गाउँलेले उनीसँग राय माग्छन्।
स्नातक सकेपछि प्रहरी निरीक्षकका लागि तयारी गर्ने सोच सपनाको छ। आफूले कुनै दिन इलाकाको नेतृत्व गर्ने अवसर पाएमा महिला सशक्तिकरणमा विशेष जोड दिने सपनाले चाहना व्यक्त गरिन्।
‘महिलाहरू अझै पनि पछाडि छन्,’ सपनाले भनिन्, ‘प्रहरीमा त झनै एकदमै कम मात्रै महिला भर्ना हुन आउँछन्, जसले गर्दा कोटा पुग्नै मुस्किल हुन्छ।’
उनलाई लाग्छ, उच्च शिक्षा हासिल गरेका युवतीहरू प्रहरी संगठनमा आउन सकेमात्रै गाउँ घरदेखि नै महिला सशक्तिकरणको आवाज बुलन्द हुन्छ।
महिलाले कमाण्ड सम्हाल्न सक्दैनन् भन्ने समाजको सोच परिवर्तन गर्ने चाहना सपनाको छ।