सात किलो प्रतिबन्धित अफिमसहित बाँके प्रहरीले जाजरकोटका दुई व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका दुबै जनालाई बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जको टोलीले मंगलबार बेलुका ५ बजेतिर उनीहरूलाई कोहलपुरको एक होटेलबाट पक्राउ गरेको हो।
कोहलपुर नगरपालिका वडा नम्बर २ बसपार्कस्थित भेरी गेष्ट हाउसको कोठा नम्बर १०५ बाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए।
लागुऔषध अफिमको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी पुग्दा शंकास्पद अवस्थामा रहेका जाजरकोट नलगाढ नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय जयबहादुर सिंह र सोही ठाउँका ३३ वर्षीय वीरेन्द्रमान सिंहलाई पक्राउ गरिएको एसपी रानाले बताए।
‘कालो रंगको झोलाभित्र सात वटा प्लाष्टिकको पोका बनाइराखेको अवस्थामा प्रतिबन्धित लागुऔषध अफिम फेला परेको हो,’ एसपी रानाले भने, ‘पक्राउ परेकाविरुद्ध थप अनुसन्धान भइरहेको छ।’
पछिल्लो समय दाङ, बाँके, रुकुम र रोल्पालगायत जिल्लामा हप्ता दिनमा यसैगरी ठूलो परिमानमा प्रहरीले लागुऔषध बरामद गर्दै आएको छ। जसले गर्दा पछिल्लो समय ठूलो संख्यामा लागुऔषधको अवैध कारोबार भइरहेको पुष्टि भएको रानाले बताए।
कोरोना संक्रमणबीच धेरै मानिस बेरोजगार हुनु र पारिवारीक खर्चको जोहो गर्नसमेत कठिन हुन थालेपछि सजिलै पैसा कमाउने लालचका कारण लागुऔषधको कारोबार बढेको हुन सक्ने राना बताउँछन्।
लागुऔषध तथा नियन्त्रण ऐन २०३३ अनुसार लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न व्यक्तिलाई १५ वर्षदेखि जन्म कैदसम्म हुन सक्ने कानुनी व्यवस्था छ । कानुनमा त्यस्तो कार्य गर्नेलाई पाँच लाखदेखि २५ लाखसम्म जरिवाना हुने व्यवस्था पनि छ।