मकवानपुरमा यात्रुवाहक बस र मालवाहक ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
हेटौंडा–नारायणगढ सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा शुक्रबार बिहान यात्रुवाहक बस र मालवाहक ट्रक ठोक्किएका थिए।
बिहान करिब २ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १०८५ नम्बरको रात्रि बस र हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना २ ख ७५३८ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्।
दुर्घटना हुँदा सर्लाही चक्रघट्टाका अन्दाजी ४० वर्षीय राजकिशोर रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।
मृतक बसमा सवार यात्रु हुन्।
उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका रायको उपचारका लागि हेटौंडा–११ स्थित चुरेहिल अस्पताल लगिएको थियो।
उनको उपचारको क्रममा मृत्यु भएको थियो।
प्रहरीले दुवै सवारी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
रासस