डोटीबाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर आलेमगरले ब्रेन ट्युमर भएर उपचाररत डोटीको बिडकेदार गाउँपालिका–१ रिसडीकी २३ वर्षीया निर्मला मन्नी तथा उनका १८ वर्षीय भाइ डबल मन्नीको उपचारका लागि एक लाख रूपैयाँको आर्थिक सहयोग गरेका छन्।
छोराछोरी दुवैलाई ब्रेन ट्युमर भएपछि उपचारका लागि कैलालीमा रहेको आफ्नो जग्गा जमिन सबै बेचेर मन्नीको परिवार अहिले सुकुम्बासी भएको छ।
उनीहरूको शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौँमा उपचार भइरहेको छ।
सांसद आलेमगरले अस्पतालमै गएर बिरामीका आमा कल्पना मन्नीलाई आफ्नो व्यक्तिगत तर्फबाट उक्त रकम प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए।
मिगौला रोग (मिर्गौला क्यान्सर) ले ग्रसित उनीहरूका बुवा लक्ष्मण मन्नीको गत वर्ष असोज १४ गते मृत्यु भएपछि छोराछोरीको उपचारका लागि झनै समस्या उत्पन्न भएको नेकपाका नेता तथा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य माधव रोस्याराले बताए।
उनले भने, 'बुबाको मिर्गौला क्यान्सरले मृत्यु भयो, छोराछोरी बिरामी परे सांसद आलेमगरले केही सहयोग गरेपछि अहिले उपचार हुँदैछ, उपचारमा अझै धेरै रकम लाग्ने भएपछि उक्त परिवार निकै पीडामा रछ।'
सासंद आलेमगरले बुवाको उपचारका लागि पनि ७५ हजार रूपैयाँ उपचार सहयोग गरेको छोरी निर्मलाले जानकारी दिइन्।
(रासस)