काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका वडा नं. ९ मा कृषि सडक निर्माण भएको छ।
रातोचौंर–च्यानडाँडा–केउरेनी कृषि सडकको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले शुक्रबार उद्घटान गरे।
गाउँपालिकाको करिब ८ लाख रूपैयाँको बजेटमा निर्माण भएको उक्त सडकले स्थानीयवासीलाई निकै सहज बनाएको छ।
सो सडकले वडाबाट गाउँपालिका केन्द्र र मध्यपहाडी लोकमार्ग समेत जोडेको छ। यसले आवागमनमा सहज बनाएको भन्दै स्थानीयवासीमा खुशीयाली छाएको छ।
गाउँपालिका अध्यक्ष गौतमले निर्वाचनमा आफूहरूले स्थानीय जनतासँग गरेको प्रतिबद्धता अनुरुपको काम पूरा हुँदै गएको बताए।
'हामीले निर्वाचनम यहाँको खानेपानी, बिजुली र सडकको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका थियौं, ती समस्या समाधान गरेका छौं', उनले भने।
गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाइले आफूहरू निर्वाचित भएर आउँदा देखेका समस्या क्रमशः पूरा गर्दै आएको बताए।
वडा अध्यक्ष रामबहादुर लामाले आफ्नो वडा गाउँपालिकाको सबै भन्दा विकट भएको बताउँदै पछिल्लो समयमा विकासको गतिविधि बढीरहेको जानकारी दिए।
(रासस)