दाङ जिल्लाका प्रहरी प्रवक्ता तथा डिसपी सुमित खड्काको कुकुर डरलागदो छ। फ्रेञ्च मास्टिक जातको कुकुर हो, झ्वाट्ट नियाल्दा झन्डै बाघजत्रै र जस्तै लाग्छ।
यो कुकुर उनलाई उनका साथीले दिएका थिए।
त्यसैले डिएसपी खड्का उसलाई निकै मन पराउँछन्। बुवाले मन पराउने भएर उनकी छोरीले कुकुरको नाम 'डिएगो' राखिदिएकी थिइन्।
उनले हेर्ने आइसिलेज भन्ने कार्टुनमा एउटा लोप भइसकेको बाघको प्रजाति जसको दाह्रा लामो थियो। त्यो बाघ र यो कुकुरको रूप रंग पनि मिल्दोजुल्दो भएको हुँदा नाम पनि उही राखिदिएकी हुन्।
डिएगो ५ वर्षको भयो। डिएसपी खड्काले यसलाई सानैदेखि पाल्दै आएका छन्। जागिरको सिलसिलामा डिएसपी खड्कालाई कहिले कता कहिले कता गइरहनु पर्छ।
हरेक एक डेढ वर्षमा उनको सरूवा नै भइरहन्छ। उनी जहाँ जान्छन् यो कुकुरलाई पनि त्यही लगेर जान्छन्।
‘यो कुकुर सबभन्दा बढी त्यहीँ काम लाग्छ जहाँ साथी हुन्नन्। कर्णाली प्रदेश जाँदा मनोरञ्जनका साधन हुँदैनन्,’उनले भने, ‘परिवारसँग पनि अलि टाढा बस्नुपर्ने स्थिति हुन्छ। त्यस्तोमा यो कुकुर मेरो साथी बन्छ ।’
साँझ बिहान कुकुरसँग डुल्दा, घुम्दा र खेल्दा एक्लोपनको अनुभूति नहुने र तनाव कम हुने उनले बताए।
कुकुरलाई बिहानै ५ बजे मर्निङ वाकमा लैजानु पर्छ। अलि– हिँडाउनु र एक्साईज गराउनु पर्छ।
कुकुरलाई हिँडाउन र डुलाउन लैजाँदा आफ्नो पनि शारीरिक व्यायाम हुने गरेको डिएसपी खड्काले बताए।
‘यो कुकुरले गर्दा मेरो स्वास्थ्य पनि राम्रो बनेको छ,’ खड्काले भने ‘म दिनकै यो कुकुरसँगै कम्तिमा पनि ६/७ किलोमिटर दौडिन्छु। आफूलाई अल्छि लागे पनि यो कुकुरकै कारणले गर्दा पनि म उठ्नै पर्छ।’
त्यस्तै कारणहरूले गर्दा आफू जहाँ गए पनि कुकुर पनि साथमै लिएर जाने गरेको उनले बताए।
उनी सरूवा भएर जाने ठाउँमा अनिवार्य रूपमा कुकुरका लागि पनि छुट्टै केज बनाइ दिन्छन्।
जिल्ला प्रहरी कार्यालय घोराहीस्थित आफ्नो क्वार्टरमा पनि उनले तार जालीले बेरेर कुकुरका लागि केज बनाएका छन्। त्यहीँ बाँधेर राख्छन्।
उनी कार्यालय जाँदा कुकुर त्यसैमा बस्छ। कार्यालय बाहेकको समयमा उनी आफैंले कुकुरको ख्याल राख्छन्।
डिएसपी खड्काका अनुसार अलि लामो समय उनलाई नदेख्दा डिएगो आत्तिन्छ। परिवार साथै छन् भने उसलाई ख्याल गर्नु है भनेर उनी जान्छन्।
उनले कुकुर नुहाई दिनेदेखि सरसफाइको काम पनि आफैं गर्छन्।
‘म जहाँ जान्छु यसलाई त्यहीँ लान्छु मैले जे खान्छु यस्ले पनि त्यही खान्छ,’ डिएसपी खड्काले भने ‘ अलि लामो समय यसलाई नदेख्दा अब त मलाई पनि नियास्रो लाग्छ।’
सरूवा भएर टाढा जानु पर्दा कुकुरलाई घरमा छोडे त भैहाल्थ्यो। तर उनले छोड्दैनन्। कुकुरको ख्याल राखिदिँदैनन् कि भन्ने लाग्छ रे।
‘कुकुर आफूले पो पालेको हो त, घरकाले त पालेका हैन नि। त्यसैले घरको मान्छेले मैले जति माया उस्लाई नगर्न सक्छन् भन्ने पनि लाग्छ र साथमै लिएर जान्छु।’
डिएसपी खड्का अनुसार डिएगोले पनि उनको रक्षा गर्छ। कोही उनीसँग अलि जोड्ले बोल्न खोज्यो, बाहना गरेरै भए पनि उनलाई कसैले ढकल्न खोज्यो भने पनि उसले झम्टिन्छ।
खड्काले शौख र सानका लागि मात्रै कुकुर नपाल्न आग्रह गर्छन्।
‘उसलाई टाइम दिन सक्नु हुन्छ,केयर गर्न सक्नु हुन्छ र परिवारजस्तै बनाएर राख्न सक्नु हुन्छ भने मात्रै कुकुर पाल्नुहोस्,’ खड्काले भने ‘उचित तरिकाले हेरचाह गर्न नसक्ने र पछाडि बाँधेर राख्नका लागि मात्रै कुकुर नलिनु उचित हो।’
कुकुरलाई साथी ठान्न सक्नेले मात्र पाल्नुपर्ने उनी ठान्दा रहेछन्।
हिन्दु समाजमा एक दिन (कुकुर तिहारका दिन) भए पनि कुकुरलाई पूजा गरिन्छ। सम्मान गरिन्छ। आफूले पालेको कुकुरलाई हरेक दिन सम्मान र माया दिनुपर्ने उनले बताए।
डिएसपी खड्काका अनुसार जनावरमा पनि फिलिङ्स हुने हुँदा त्यसको कदर र सम्मान गर्नुपर्छ।