दाङका दस वटा क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आइतबार बेलुका कार्यालयमा पत्रकार सम्मेलन गरी अनुमति नलिई सञ्चालन गरिएका दस वटा क्रसर उद्योगलाई १५ दिनमा बन्द गर्न निर्देशन दिएका हुन्।
‘बालुवा वासिङको अनुमति लिएर क्रसिङको काम गरिरहेका दस उद्योगको अनुमति एउटा र काम अर्कै गरिरहेको पाइएको हुँदा बन्द गर्न निर्देशन गरिएको हो,’ प्रजिअ आचार्यले भने, ‘व्यवसायीको सल्लाहामा व्यवस्थापनका लागि १५ दिनको म्याद दिइएको हो।’
प्रजिअ आचार्यका अनुसार तुलसीपुर बिजौरीस्थित स्वर्गद्वारी स्क्रिन प्लान्ट, बिजौरीकै जनविश्वास बालुवा वासिङ उद्योग, तुलसीपुरकै गणेश बालुवा वासिङ उद्योग, तुलसीपुरको के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, तुलसीपुरकै मंगलम् बालुवा प्रशोधन उद्योग, लमहीको सतवरीयास्थित बगारवावा बालुवा प्रशोधन उद्योग, लमहीकै पाण्डवेश्वर बालुवा वासिङ उद्योग, लमही सतवरीयाको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवाको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग, पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग, बबईस्थित वासिङ उद्योगलाई क्रसरको काम बन्द गर्न निर्देशन दिइएको हो।
प्रजिअ आचार्य लगायतको टोलीले जिल्लामा सञ्चालनमा रहेका ४० वटा जति क्रसर तथा बालुवा वासिङ उद्योगको अनुगमन गरेपछि दस वटा क्रसरलाई बन्द गर्न निर्देशन दिएको हो।
क्रसर तथा बालुवा वासिङ उद्योगको अवस्था तथा मापदण्डबारेमा अनुगमन गरिएको प्रजिअ आचार्यले बताए। अनुगमनका क्रममा बालुवा वासिङ उद्योगको नाममा दर्ता गरी क्रसर उद्योग सञ्चालन गरेको, क्रसर सञ्चालन गर्दा राजमार्गको पाँच सय मिटर दूरी कायम गर्नुपर्नेमा त्यसविपरीत भएको उनले बताए।
आचार्यले जिल्लामा क्रसिङका लागि भनेर दर्ता भएका सबै उद्योगले मापदण्ड पूरा गरेको जानकारी दिए। कानुनी रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगहरूले बार्षिक रुपमा करोडौं रुपैयाँ राजश्व तिर्ने गरेका छन्। तर, बालुवा वासिङको अनुमति लिएर क्रसिङ गर्नेहरूका कारण क्रसर उद्योग सञ्चालकहरू मर्कामा परेका थिए।
‘उनीहरूले कर भने तिर्नु नपर्ने तर, मुनामा मात्रै लिने हुँदा हाम्रोभन्दा सस्तो दरमा सामान फालेर भए पनि एकलौटी व्यापार गरे,’ एक जना क्रसर सञ्चालकले भने, ‘ढिलै भए पनि प्रशासनले जे गर्यो ठिक भयो।’
प्रजिअ आचार्यको पत्रकार सम्मेलनमा राप्ती क्रसर तथा बालुवा उद्योग व्यवसायी संघका अध्यक्ष मीनबहादुर शाही पनि थिए। उनले उदेश्यविपरीत सञ्चालिन क्रसर उद्योग बन्द गर्न आफूहरूले पनि सघाउने बताए।