दाङको एकमात्रै टरिगाउँ एयरपोर्ट स्थापनाको ६६ वर्षपछि इन्धन डिपो बनाउने प्रक्रिया सुरू भएको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले आगामी वैशाख १ गते उद्घाटन गर्ने गरी इन्धन डिपो बनाउने काम सुरू भएको जानकारी दिए।
निगमको व्यावसायिक योजना र सबै नेताहरूको आग्रहका आधारमा इन्धन डिपो बनाउन लागिएको पौडेलले बताए।
त्यसका लागि एयरपोर्ट प्रवेशद्वार दक्षिण कुनामा पक्की संरचना निर्माण गरिने उनले बताए।
स्थायी संरचना निर्माणको लागि नेपाल नागरिक उड्यन प्राधिकरणसँग सम्झौता भइसकेको पौडेलले जानकारी दिए।
‘अत्याधुनिक र सानो एअफएस रिफ्युलिङ सेन्टर यहाँ स्थापना हुन्छ,’ पौडेलले भने, ‘त्यो भनेको रेडिमेड रिफ्युलिङ ट्यांक हो।’
त्यो ट्यांकले फिल्टर गर्नेदेखि लिएर रिफ्युल गर्नेसम्मको सम्पूर्ण कार्य आफैं गर्ने पौडेलले बताए।
रिफ्युलिङ सेन्टरका लागि दुई वटा ३०-३० केएलको ट्याङ्की जडान गरिने भएको छ। ती ट्यांकीमा भण्डारण हुने इन्धनले दैनिक तीन जहाज आए पनि कम्तिमा पनि १५ दिनसम्म इन्धन पुग्ने निगमका कार्यकारी पौडेलले जानकारी दिए।
रिफ्युलिङका लागि निर्माण गरिने स्थायी संरचनामा सानो अफिस एरिया, क्यालिबरेसन टावर, पार्किङ एरिया, दुई वटा बाउजर र ६ वटा ट्यांकलाई आवश्यक पर्ने अर्को एउटा भौतिक संरचना निर्माण गरिने भएको छ।
त्यसका लागि झन्डै ७५ मिटर लम्बाइ र ३० मिटर चौडाइको कम्तिमा ५ देखि ७ रोपनी जग्गा चाहिने पौडेलले बताए।
उक्त जग्गा प्रयोग गरेबापत आयल निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा तिर्ने सहमति भइसकेको उनले बताए।
‘प्रविधिको टेन्डर भइसकेको छ र अब यसमा जमिन रिफ्युलिङ गरेर कालोपत्रे गर्ने मात्रै काम बाँकी रहेको छ,’ पौडेलले भने, ‘अफिस पनि हामी छिट्टै बनाउन सुरू गर्छौं र वैशाख १ गते उद्घाटन गर्ने हाम्रो लक्ष्य छ।’
यी सबै संरचना निर्माण गर्न झन्डै दश करोड जति खर्च लाग्ने अनुमान गरिएको छ। त्यसमा झन्डै एक करोड जति तुलसीपुर उपमहानगरपालिकाले व्यहोर्ने र बाँकी रकम आयल निगमले दिने पौडेलले जानकारी दिए।
संरचना निर्माण गर्दाखेरि ढल व्यवस्थापन, सुरक्षाकर्मी बस्ने पुरानो भवन पनि हटाउनु पर्ने हुँदा त्यसमा उपमहानगरपालिकाले सघाउने सहमति भएको पौडेलले बताए।
‘हाम्रो रिफिलिङ आइसोलेटेड हुनुपर्छ र हामीले रिफ्युलिङ गरी सकेपछि बाउजर गाडीहरू साइडबाट घुमाउनु पर्ने हुँदा यहाँका पुराना संरचना हटाउनु पर्ने अवस्था देखिएको छ,’ पौडेलले थपे, ‘त्यस्तो अवस्थामा आयल निगम वा नागरिक उड्डयनका लागि तुलसीपुरले छुट्टै संरचना निर्माण गरिदिने भन्ने सम्झौता भएको छ।’
उपमहानगरपालिकाको एक करोड र निगमको नौ करोड जति लाग्ने निगमका कार्यकारी पौडेलले अनुमान गरे। त्यसमा निगमको पुरानै संरचना डिजेल पेट्रोलका कर्मचारीले काम गर्ने भएको हुँदा अलग्गै संरचना निर्माण नगरिने पौडेलले जानकारी दिए।
ट्यांक खरिदमा तीन करोड, अर्को रिभिलमा डेढ करोड, थप दुई वटा बाउजर र दुई वटा ट्याङकर खरिद गर्दा दश करोड जति लाग्ने उनले बताए।
प्रविधिको काम सुरू भइसकेको र त्यसका लागि भारतमा शाखा रहेको टाइटन फ्रेञ्च कम्पनीले जितेको निगमका कार्यकारी पौडेलले जानकारी दिए। टाइटनले दाङसहित नेपालका तीन वटा ठाउँको लागि एकै साथ रिफिल्युलिङ सेन्टरको काम सुरू गरेको उनले बताए।
‘१५-२० दिनभित्र संरचना निर्माणको काम सुरू हुन्छ,’ पौडेलले भने, ‘त्यसका लागि तत्कालै यो झाडी तथा रूख हटाउने काम थालिने छ।’
तुलसीपुरका मेयर घनश्याम पाण्डेले लामो समयको अन्तरालमा भए पनि सपनाको परियोजना पुरा हुन लागेको भन्दै खुसी व्यक्त गरे। उनले रिफ्युलिङ सेन्टर स्थापनाले दाङको हवाइ सेवा थप सुदृढ हुने विश्वास व्यक्त गरे।
‘यो दाङवासीको सपना र आवश्यकताको कुरा हो। त्यसैले हामी यो सफल पार्न लागि पर्नेछौं,’ मेयर पाण्डेले भने।
टरिगाउँ एयरपोर्टमा २०११ सालमा पहिलो पटक विमान अवतरण भएको थियो। यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालको दोस्रो पुरानो एयरपोर्ट हो।
यो एयरपोर्ट लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री भएका बेला कालोपत्रे भएको थियो। ७ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग मात्रै कालोपत्रे भएकाले ट्विनअटर जहाजमात्रै अवतरण गर्न सक्छन्। कालोपत्रे नहुँदै टरिगाउँ एयरपोर्टमा त्योभन्दा ठूला जहाज आउँथे।