दाङको छिल्लीकोटमा हालसालै तीन तले भ्यू टावर निर्माण गरिएको छ।
टावरको उचाइ २० फिट छ। सबैभन्दा माथिल्लो तलामा सुरक्षाको लागि रेलिङ अझै बनाइएको छैन।
उद्घाटन भइनसकेकाले भ्यू टावर सर्वसाधारणका लागि खुला गरिएको छैन।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा छिल्लीकोट पर्छ।
छिल्लीकोट आसपासमा भ्यू टावरभन्दा कयौं गुणा अग्ला पहाड छन्। ती पहाडबाट दाङमात्र नभएर आसपासको दृश्य मजाले देख्न सकिन्छ।
यो भ्यू टावर उपभोक्ता समितिमार्फत् निर्माण भएको हो। छिल्लीकोट भ्यू टावर निर्माण उपभोक्ता समितिका अध्यक्ष परवीर पुन मगरका अनुसार ३९ लाख ४५ हजार ८ सय ३२ रुपैयाँको लागतमा निर्माण गरिएको हो।
तुलसीपुर उपमहानगरपालिकाको ३० लाख अनुदान र नौ लाख ४५ हजार रुपैयाँ जनश्रमदानबाट भ्यू टावर निर्माण भएको निर्माण समितिका अध्यक्ष मगरले बताए।
तुलसीपुर उपमहानगरपालिकाले ३० लाखमध्ये २७ लाख ७४ हजार रकममात्रै प्राप्त भएको पुनले बताए। उनले भ्यू टावरकोमाथि राष्ट्रिय झण्डा राख्ने सोच रहेको सुनाए।
त्यो झण्डाको लागि दाता खोजिरहेको उनले बताए। त्यस्तै, भ्यू टावरसम्म पुग्न झन्डै डेढ सय मिटरजति रेलिङसहितको सिँढी निर्माण गर्नुपर्ने आवश्यकता रहेको निर्माण समितिका अध्यक्ष मगरले बताए। त्यसका लागि थप आठदेखि दस लाख रुपैयाँ लाग्न सक्ने उनले अनुमान गरे।
पहाडको चुचुरोमा किन चाहियो भ्यू टावर? मगरले जवाफ दिए- सर्वसाधारणबाट राजश्व उठाउन।
‘यहाँ पहाड त जति पनि छन् र ती पहाड चढेको कसले पैसा दिन्छ र?,’ मगरले थपे, ‘भ्यू टावर बनाएपछि पैसा उठाउन सजिलो हुन्छ र त्यसले छिल्लीकोटको विकास गर्न टेवा पुग्ने छ।’
उनले भ्यू टावर चढ्न टिकटको व्यवस्था गरिने र एउटा व्यक्तिवाट ५० रुपैयाँ लिने तयारी गरिएको बताए।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले स्थानीयको मागबमोजिम पहाडमा भ्यू टावर निर्माण गर्न लगानी गरेको बताए।
‘भ्यू टावर भएपछि छिल्लीकोटको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने दाबी स्थानीयको थियो,’ मेयर पाण्डेले भने, ‘आशा छ भ्यू टावरले त्यहाँको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ।’
गत असारमा प्रदेश सरकारको ५० लाख रुपैयाँ लागतमा पूर्वतर्फको मालिका मन्दिर पुनर्निर्माण गरिएको छ। त्यो मन्दिरसम्म पुग्न रेलिङ पनि निर्माण गरिएको छ। यसपालि फेरि थप ३० लाख रकम प्राप्त भएको र त्यसले कालिका मन्दिर पुनर्निर्माण गरिने अध्यक्ष मगरले बताए।
‘मालिकामा अब टायल बिछ्याउनमात्रै बाँकी छ,’ मगरले भने, ‘यसपटक आएको रकमले अब हामी तत्कालै कालिका मन्दिरको गजुर, रेलिङ, पर्खाल लगायतका काम गर्छौं।’
उनले ‘लिफ्टिङ’ गरेर खानेपानीको प्रबन्ध गर्न लागिएको बताए। त्यसका लागि ६० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिने छ।
दाङको छिल्लीकोट समुन्द्री सतहदेखि एक हजार ४ सय १० मिटरको उचाइमा छ।
छिल्लीकोट ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थल हो। यहाँ सत्ययुगमा सतिदेवीको बायाँ कुम पतन भएको धार्मिक विश्वास छ।
छिल्लीकोटका पहाडमा मालिका र कालिका देवीका मन्दिर छन्। मालिका र कालिका मन्दिरबीचको दुरी ८ सय ७० मिटर छ।
धार्मिक र सांस्कृतिक कारणले पनि सर्वसाधारण मानिस छिल्लीकोट जाने गर्छन्। पहाडी र अप्ठेरो भूगोलका कारण वर्षायाममा कच्ची सडक भएका कारण सवारीसाधन सञ्चालन गर्न कठिन हुन्छ। छिल्लीकोट तुलसीपुर–घोराही सडकको दूधसरादेखि उत्तर झन्डै ८ किलोमिटरको दूरीमा पर्छ।
वर्षायाम सकिएपछि भने छिल्लीकोटमा दैनिक एक हजारदेखि पन्ध्र सयसम्म पर्यटक अवलोकनका लागि पुग्ने गर्छन्।
मौसम सफा हुँदा यहाँका डाँडाबाट रुकुमको सिस्ने हिमाल, रोल्पाको जलजलाजस्ता हिमाल देख्न सकिन्छ। महाभारत पर्वत शृंखलाबाट दक्षिणको दाङ उपत्यका नियाल्न सकिन्छ।
त्यही प्रकृतिक दृश्य अवलोकन गर्न मानिसहरू छिल्लीकोट भ्रमण जाने गर्छन्।
छिल्लीकोटमा १४९० देखि राज्य सञ्चालन भएको पाइन्छ। त्यसभन्दा अगाडिसम्म छिल्लाकोट विशाल दंगीशरण थारु राजाको राज्य अन्तर्गत थियो।
जुम्लाका राजा मेघनाथ शाह छिल्लीकोट आएर राज्य सञ्चालन सुरू गरेका थिए। इतिहासअनुसार अन्तिम राजा वीरभद्रसिंह शाह थिए।
१८४३ मा नेपाल एकीकरणका क्रममा छिल्लीकोट राज्य नेपालमा गाभिएको थियो।
छिल्लीकोटमा एउटा मात्रै सामुदायिक इकाइ स्वास्थ्य चौकी छ। त्यहाँ सामान्य उपचारमात्र हुन्छ। अरू उपचारका लागि
तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल वा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जानुको विकल्प छैन।
‘सुत्केरी हुँदासमेत तुलसीपुर वा घोराही झर्नुको विकल्प छैन,’ अध्यक्ष मगरले भने, ‘कच्ची बाटो भएको हुँदा वर्षामा गाडी पनि चल्न सक्दैनन्। बिरामी बोकेरै लानुपर्छ।’
छिल्लीकोटमा हालसम्म प्राथमिक विद्यालयमात्रै छ। कक्षा १० सम्मको अध्ययनको लागि डेढ घन्टा हिँड्नुपर्छ।
‘१० कक्षा पढ्न यहाँका विद्यार्थी डेढ घन्टा लगाएर संक्राम झर्नुको विकल्प छैन,’ मगरले भने, ‘कि भने तुलसीपुर वा घोराहीमा डेरा बसेर पढ्नुपर्छ।’
छिल्लीकोट क्षेत्रको पहाड माथिबाहेक अन्यत्र प्रिपेड फोन लाग्दैन। हाल त्यहाँ नेपाल टेलिकमले टावर बनाइरहेको छ।
दाङमा कहाँ-कहाँ बन्दैछन् भ्यू टावर?
दाङको पहिलो भ्यू टावर ‘मनदिल भ्यू टावर’ हो। यो घोराही उपमहानगरपालिका वडा नं. १८ ढोडेनीमा पर्छ।
दुई वर्ष अगाडिदेखि सञ्चालनमा आएको त्यो भ्यू टावर निजी लगानीमा निर्माण भएको हो। ४० लाख खर्चेर निर्मित उक्त भ्यू टावर १७ मिटर उचाइको छ।
बुवा-आमाको सम्मानमा त्यो भ्यू टावर निर्माण गरिएको एक छोरा नरेन्द्र पुनले बताए।
त्योबाहेक घोराहीमा भ्यू टावर छैनन्। घोराहीका मेयर नरुलाल चौधरीका अनुसार नगरभित्र अन्त कतै भ्यू टावर निर्माण गर्ने योजना पनि छैन।
‘भ्यू टावरभन्दा अग्ला पहाडले दाङलाई वरिपरि घेरको छ,’ मेयर चौधरीले भने, ‘हामीलाई किन चाहियो त्यो भ्यू टावर? हामी बनाउँदैनौं।’
तुलसीपुरका उपमहानगरपालिकामा भने एक ठाउँमा भ्यू टावर निर्माण अधकचल्टो छ। अरू थप दुई-तीन ठाउँमा निर्माणको प्रक्रिया थालनी भएको छ। दंगीशरण थारु राजाको प्राचीन दरबारस्थल तुलसीपुर-११ सुकौरामा स्थानीय तथा संविधानसभा सदस्य बुद्धिराम भण्डारीको संसद विकास कोषबाट निर्माण थालिएको भ्यू टावर अधुरै छ।
संसद विकास कोषको २० लाख रकमले तत्कालीन जिल्ला विकास समितिले निर्माण थालेको उक्त भ्यू टावर दुई तलामात्रै निर्माण भएको छ। पाँच तला बनाउने डिजाइन भए पनि रकम अभावले अरू निर्माण कार्य हुन नसकेको हो। भ्यू टावर निर्माण भइरहेको ठाउँ आसपासभन्दा डाँडोमा छ।
कांग्रेस नेता भण्डारीले भ्यू टावर निर्माणपछि सुकौरास्थित प्राचीन थारु राजा दंगीशरणमा पर्यटन भित्रिने र चर्चा परिचर्चा चुलिने आशाका साथ त्यो निर्माण गर्न रकम दिएको बताए।
त्यस्तै, तुलसीपुर-८ अश्वारमा पनि भ्यू टावर निर्माण गर्न थालिएको छ। यहाँ भ्यू टावर निर्माणस्थल उच्च भागमा छ। संसद विकास कोषको १५ लाख रकमबाट पर्खाल निर्माण तथा जग्गा छुट्याउने काम भइसकेको छ। रकम अभावले त्योबाहेक थप काम हुन सकेको छैन। अश्वार मेयर पाण्डेको पुर्ख्यौली गाउँ हो।
तुलसीपुर-३ कै बल्ले भन्ने स्थानमा पनि ‘बल्ले भ्यू टावर’ निर्माण गर्ने गरी डिजाइन तयार पारिएको इञ्जिनियर पवन योगीले बताए।
यो सल्यानसँग सिमाना जोडिएको नगरको अतिविकट र पहाडी क्षेत्र हो। जहाँ अग्ला महाभारत पर्वत शृङ्खला छन्।
अप्ठेरो भूगोलका कारण यहाँ यातायात, खानेपानी, शिक्षा, स्वास्थ्य र सञ्चारको पहुँच छैन। टेलिफोनको नेटवर्क नटिप्ने यो ठाउँमा भ्यू टावर बनाउने योजना छ।
त्यस्तै, तुलसीपुर बजारमै नगरको सामुन्ने ‘तुलसी टावर’ निर्माण गर्न डिजाइन अन्तिम चरणमा रहेको इञ्जिनियर योगीले जानकारी दिए। त्यो टावर ३५ करोडमा निर्माण गर्ने गरी तयारी गरिएको छ। तर, त्यो टावर निर्माण गर्न रकम कहाँबाट जुटाउने भन्ने समस्या छ।
लमहीमा भ्यू टावर निर्माण गर्न डेढ करोड
लमही नगरपालिकाले डेढ करोड खर्चेर भ्यू टावर निर्माण गरिरहेको छ। लमही-५ बजारनजिकै खत्री टोलमा भ्यू टावर निर्माण थालिएको मेयर कुलबहादुर केसीले जानकारी दिए।
हालसम्म करिब एक करोड खर्च भइसकेको र पाँच तले भ्यू टावर निर्माण पूरा गर्न डेढ करोडजति लाग्ने अनुमान गरिएको मेयर केसीले बताए।
नगरको आन्तरिक बजेट निर्माण थालिएको भ्यू टावरमा यो वर्ष कोरोना माहामारीका कारण बजेट छुट्याउन नसकेको भए पनि आगामी आर्थिक वर्ष बजेटको व्यवस्था गरेर पूरा गरिने केसीले बताए। लमही भ्यू टावर निर्माण भइसकेपछि पूरा देउखुरी उपत्यका अवलोकन गर्न सकिने र त्यसले पर्यटक भित्र्याउन सहयोग पुग्ने मेयर केसीले तर्क गरे।
भ्यू टावरमुनि पसल सञ्चालन गर्ने, ग्रीन पार्क निर्माण गरिनेजस्ता योजना रहेको उनले सुनाए। पूर्व-पश्चिम राजमार्ग यही लमही हुँदै गएको छ। यहाँ दैनिकजसो दुर्घटना हुन्छन्। गतिलो अस्पताल छैन। उपचारका लागि घोराही वा तुलसीपुर लैजानुपर्छ। त्यहाँ सम्भव नभए घाइतेलाई उपचारका लागि बाँके वा बुटवल पठाउनुपर्छ।
घाइतेहरू बाटोमै उपचार नपाएर मृत्युको मुखमा पुगेका थुप्रै घटना छन्। नगरले त्यसतर्फ भने ध्यान दिएको देखिँदैन।
त्यस्तै, गढवा गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष सद्धाम सिद्धिकीले पनि कोइलाबासको पहाडमा भ्यू टावर निर्माण गर्ने योजना रहेको बताए। यो नेपाल-भारतको सीमा नाका हो। भारतीय पर्यटक भित्र्याउन भ्यू टावर निर्माण गर्ने सोच बनाएको उनले तर्क गरे। कोइलाबास नाका क्षेत्रका स्थानीय हालसम्म खानेपानीदेखि औषधी-उपचारलगायत कुरामा छिमेकी देशको भर पर्नु परेको छ।
सबै तस्बिरहरू सौजन्य: राजेश खत्री।