गत चैत महिनाको सुरुमै महेन्द्र खड्काको तरकारी लटरम्म फलिसकेको थियो।
दस बिगाहा जमिनमा उनको तरकारी खेती छ। त्यहीबेला कडा लकडाउन भइदियो। वैशाख-जेठको अन्तिमसम्म पनि तरकारी किन्ने व्यापारी कोही आएनन्। उनको लगभग ८० प्रतिशत तरकारी बारीमै कुहियो। त्यतिबेला टमाटर ५-१० रुपैयाँ किलोसम्म झर्यो।
उनको पसिनामात्रै खेर गएन। त्यसबाट झन्डै ५० लाखजति घाटा ब्यहोर्नु पर्यो।
टमाटर, काँक्रा र अन्य तरकारी कुहिएर बारी नै गन्हाउने भयो। तै खड्काले हार मानेनन्। ‘कि सिक्छु कि जित्छु, तर, म हार्दिनँ’ भन्ने अठोटका साथ काम गरिरहेको उनी बताउँछन्।
एग्रो पसलबाट आग्रह गरेर औषधी तथा बिउविजन उधारोमा ल्याए। रासायनिक मल, कुखुराको सुली र प्राङ्गारिक मल सबै उधारोमै खरिद गरे। डिपबोरिङ अर्कैको थियो। सिँचाइ पनि उधारोमै गरे। जसोतसो काम गर्ने मजदुरलाई भने ऋण खोजेर दैनिक पैसा दिने प्रबन्ध गरे। उनको तरकारी बारीमा सरदर दैनिक २० देखि ३० जना काम गर्छन्।
लकडाउन पनि विस्तारै खुकुलो हुँदै गयो। सधैँ समय एकै खाले हुँदैन। विस्तारै सहज हुँदै जान थाल्यो। यसपालि पनि उनको मेहनत राम्रै भयो।
असार-साउनको समयमा तरकारीले भाउ पायो। टमाटर किलोको सय रुपैयाँ र त्योभन्दा पनि उच्च मूल्यमा कारोबार भयो। अन्य तरकारीको भाउ पनि निकै राम्रो थियो। त्यतिबेला भने खड्काले अघिल्लो पटकको घाटा पनि उठाउन सके। सबै ठाउँमा ऋण साहुलाई तिरेर पनि ८/१० लाख रुपैयाँ बचत गर्न सके।
‘एउटा सिजनमा घाटा भयो भन्दैमा आफ्नो पेशा नै छोड्ने हैन। पेशा परिवर्तन गर्नुहुन्न,’ खड्काले भने, ‘मेहनत गरे एक सिजनमा नभएको अर्को सिजनमा राम्रो हुन्छ। धैर्यता राख्नुपर्छ।’
यो ठाउँमा उनले तरकारी खेती गर्न थालेको दुई वर्ष भइसकेको छ। सुरूमा अर्का एक व्यक्तिसँग मिलेर पार्टनरसिपमा खड्काले यहाँ तरकारी खेती सुरू गरेका रहेछन्।
जग्गा नारायणपुरस्थित माविको हो। डेढ वर्ष भएपछि पार्टनरले तरकारी खेतीबाट हात झिके। खड्का एक्लै भए। तैपनि उनले हिम्मत हारेनन्। मेहनत गरे एक दिन कसो नहोला र? भनेर उनी काममा लागे।
एकलौटी भएपछि झनै मेहनत गरे। रात-दिन तरकारी बारीमै समय बिताए। उनी आफू पनि अन्य श्रमिकसँगै काम गर्छन्। उनको कृषि फार्ममा पुरुषभन्दा महिला कामदारको संख्या धेरै हुन्छ।
महिला कामदारलाई गोडमेल गर्न, तरकारी टिप्नेजस्ता काम दिइन्छ भने पुरुषलाई विषादी छर्कने काम पाउँछन्।
एक्लै दस बिगाहा जग्गामा खेती गर्नु चानचुने कुरा हैन।
विद्यालयको यो जग्गा पहिला उद्यमशील संस्थाले ११ वर्षको लागि भाडामा लिएको थियो। जतिबेला यो बाँझै थियो। त्यो उद्यमशील संस्थाबाट खड्काले जग्गा भाडामा लिए-दस बिगाहाको वार्षीक तीन लाखमा। अहिले पनि आधा जमिन पाँच बिगाहा बढीमा खड्काले टमाटरमात्रै रोपेका छन्।
उनको बारीमा गौरव-५५५ र सूर्य जातको टमाटर छ। अहिले त्यो टमाटर धमाधम बिक्री भइरहेको छ। लौका र करेला एक-एक बिगाहामा रोपेका छन्। त्यो पनि बजारमा गइरहेको छ। त्यस्तै काँक्रा, खुर्सानी पनि तयार छ। यो वर्षको धेरै वर्षाले भेडे खुर्सानी र पिरो खुर्सानीको बोट मर्यो। त्यो जमिनमा पनि टमाटर रोप्ने तयारी गरिरहेका छन्। सबै खेतीमा थोपा सिँचाइ र मल्चिङको व्यवस्था गरिएको छ।
उनका बुवा जुद्धबहादुर खड्काले पहिलेदेखि नै व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। अहिले पनि उनले घोराही १८ मसिनामा अलग्गै तरकारी खेती गरिहेका छन्।
जुद्धबहादुरले २०-२५ वर्षदेखि नियमित तरकारी खेती गर्दै आएका छन्। तरकारी खेती गरेकै कारण उत्कृष्ट कृषक भएर देशविदेश भ्रमणमा पनि गइसकेका छन्।
खड्काको पुर्ख्यौली घर रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ होलेरी हो। अहिले पनि त्यहाँ उनको डेढ सय रोपनीजति जग्गामा तरकारी खेती हुँदै आएको छ। त्यहाँको खेती कामदारले हेर्छन्। कुनै समस्या पर्यो भनेमात्रै आफू पुग्छन्।
गत साल जिल्ला कृषि ज्ञान केन्द्रले १४ लाख अनुदान दियो। जतिबेला उनीहरू पार्टनरमै थिए। अनुदानका लागि पहल गर्ने उनकै पार्टनर थिए। त्यसैले, खड्काले त्यसको हिसाब-किताब पनि आफूले नखोजेको बताए।
‘म अनुदानको पछि पनि लाग्दिनँ,’ खड्काले भने, ‘अनुदान चाहियो भनेर डुल्ने र कार्यालय धाउने मलाई फुर्सद पनि छैन।’
चिल्लो कारमा जानेहरूलाई मात्रै राज्यले सजिलो गरी अनुदान दिने गरेको उनले गुनासो गरे। अनुदानमा धेरै झन्झट रहेको उनले बताए।
हालसम्म यो तरकारी खेतीमा करिब एक करोड लगानी पुगिसकेको खड्काले बताए। हालसालै उनले ६० लाखमा डिप बोरिङ र जग्गा खरिद गरेका छन्।
तरकारीमा रोग, किरा वा अन्य कुनै समस्या देखिएमा उनले प्राविधिकको सल्लाह लिन्छन्। लामो समयदेखि खेती गरेको हुँदा उनलाई तरकारी खेतीबारे धेरै ज्ञान पनि भइसकेको छ।
‘कामले काम सिकाउँदो रहेछ,’ खड्काले भने, ‘कुन समयमा कुन औषधी र भिटामिन छर्किने भन्ने जानकारी छ।’
सँगै बस्दा फुर्सदको समयमा महेन्द्रले बुवासँगै खेतबारीमा काम गर्थे। २०६७ सालदेखि भने आफू पनि अलग्गै व्यावसायिक तरकारी खेतीमा लागे। होलेरीबाट कक्षा १० उत्तीर्ण गरे। त्यसपछि दाङ झरेर कक्षा १२ को पढाइ पूरा गरे। अनुत्पादक मुलुकमा पढेरमात्रै काम छैन भन्ने उनलाई लागेछ। त्यसपछि पढाइ छोडेर कृषि कर्ममा लागेको उनले बताए।
विद्यानिलकण्ठमा पढ्दा उनले एउटा विषय पत्रकारिता पनि रोजे। राजनीतिक रुपमा तत्कालीन माओवादी संगठनमा थिए।
व्यावसायिक रूपमा पत्रकारिता नगरे पनि विद्यार्थी संगठनमा रहँदा पार्टीको आन्तरिक समाचार लेखे। केही साप्ताहिक रूपमा पनि फाट्टफुट्ट समाचार लेखे।
अहिले उनले राजनीति छोडेका छन्।
‘यस्तै रहेछ राजनीति भन्ने कुरा, आफू पछाडि परेर अरूलाई अगाडि बढाउने खेल कहिलेसम्म खेल्ने,’ खड्काले प्रश्न गरे, ‘सँगै हिँडेका साथीहरूले पनि अलिकति अगाडि गएपछि बिर्सिने रहेछन्। साथीकै टाउकोमा टेकेर अगाडि बढ्दा रहेछन्।’
आज उनलाई समाचार हेर्ने फुर्सद पनि छैन। ‘खेतीपातीले खान दिन्छ, हामी जस्तालाई राजनीतिले केही दिन्न रहेछ,’ खड्काले भने।
जन्मथलो रोल्पा छोडेर दाङमा किन झरेको? भन्ने पश्न हामीले सोध्यौं। रोल्पामा प्रशस्त जग्गा नपाइनु, यातायातको सुविधा नहुनु, बढी चिसो हुनुजस्ता कारण उनले देखाए।
‘हामीले उत्पादन गरेको तरकारी बजारसम्म ल्याउनै समस्या हुन्थ्यो,’ खड्काले थपे, ‘त्यसका लागि हामीले चार वटा घोडा पालेका थियौं। त्यतिले नपुगेर कहिलेकाँही गाउँका घोडासमेत तरकारी ओसार्न भाडामा ल्याउनु पर्थ्यो।’
खड्काले होलेरीदेखि चौखेसम्म ती सबै घोडा एक्लै तरकारी ढुवानीका लागि धेरै वारपार गराए। त्यो अलि कष्टकर र जोखिमयुक्त थियो। त्यसैले, भन्डै ९ वर्ष पछाडि घोराहीको सौंडियारमा केही जग्गा किनेर खड्काको परिवार दाङ झरेको हो। महेन्द्र घोराही उपमहानगरपालिका वडा नं. १८ मसिनामा बस्छन्।
‘अहिलेसम्म मेरो नाममा एक कठ्ठा पनि जग्गा छैन। म अहिलेसम्म सुकुमबासीजस्तै छु,’ खड्काले भने, ‘मैले हालसम्म जग्गा किन्न ध्यान नै दिएको छैन। जग्गा किन्ने पैसा खेतीमा लगाए आफूमात्रै हैन समाजलाई पनि फाइदा हुन्छ भन्ने लाग्छ।’
मसिनामा पनि महेन्द्रको दुई बिगाहा क्षेत्रफलमा तरकारी खेती छ। त्यो जग्गा पनि भाडा लिएर उनले तरकारी खेती गरेका हुन्। त्यहाँको जम्मै खेतीपातीको जिम्मेवारी उनकी श्रीमती सरिता खड्कालाई छ।
‘त्यहाँ मेरो श्रीमतीको जिम्मामा छ,’ खड्काले भने, ‘हामी जिम्मेवारी बाँडफाँड गर्छौं, हिसाब-किताब पनि आ-आफ्नो हुन्छ र कमाइ पनि आ–आफ्नै।’
एउटै एग्रोभेटबाट विषादी, बिउ बिजन लैजाने गरे पनि लाग्ने खर्च भने आ-आफ्नै हुने गरेको खड्काले बताए।
पती-पत्नीमा कसले बढी कमाउँछ? महेन्द्रले हाँस्दै जवाफ दिए, ‘मेरो श्रीमती एक्लै कम्तीमा वार्षिक १५ लाख कमाउँछिन्।’
उनीहरूका छोराछोरी घोराहीकै विद्यालयमा पढ्छन्। महेन्द्रका अनुसार उनीहरूको पारिवारीक जमघट हप्तामा एक दिन मात्रै हुन्छ। अघिपछि सबै आऔआफ्नो काममा व्यस्त हुन्छन्। छोराछोरीले फुर्सदको समयमा आमालाई काममा सघाउने गरेको महेन्द्रले बताए।
महेन्द्र परिवारका जेठा छोरा हुन्। उनका भाइ पनि बुवालाई सघाउँछन्। कृषि कर्ममै रमाइरहेका छन्।
दस बिगाहाजति जमिनमा खेती गर्ने हो भने अमेरिका, जापान, अष्ट्रेलिया कतै जान आवश्यक नुहेन उनले बताए।
‘काम पाएनौं भन्नेहरू म कहाँ आए हुन्छ, म उहाँहरूलाई काम दिन्छु,’ खड्काले भने, ‘कोही इच्छुक हुनुहुन्छ भने आउनुहोस् व्यावसायिक तरकारी खेती गर्न हामी सघाउँछौं।’
आफूकहाँ आउनेहरूलाई खेती गर्ने तरिका र प्राविधिक ज्ञानसमेत दिने गरेको उनले बताए।
‘जग्गा भाडामा लिएको दुई वर्ष बितिसक्यो,’ ३१ वर्षीय महेन्द्रले भने, ‘अबको ९ वर्षभित्र कम्तीमा पनि ५ करोड बढी कमाउँछु भन्ने विश्वास छ।’
आफूलाई रुची भएको काम इमान्दारीपूर्वक गरे जसलाई पनि सफलता मिल्ने उनले बताए। रुची नभएको काममा हात नहाल्न र देखाउनका लागि कुनै काम नगर्न उनले सुझाए।