बालिकालाई बलात्कार गरेको आरोपमा दोगडाकेदार गाउँपालिका–६ सित्तडका १७ वर्षीय एक किशोर पक्राउ परेका छन्।
यही मङ्सिर १६ गते आफ्नै घरमा लगेर १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ती युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज एंव प्रहरी निरीक्षक धनदेव साउदका अनुसार उमेर नपुगेकाले पक्राउ परेका किशोर तथा किशोरीको नाम सार्वजनिक गरिएको छैन।
दुवै जनाको जन्मदर्ता मगाएर थप अनुसन्धानको काम भइरहेको उनको भनाइ छ।
पिडीत किशोरीका आफन्तको उजुरीका आधारमा जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
उनले भने, 'जिल्ला अदालत बैतडीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरू गरिसकेका छौँ, प्रारम्भिक अनुसन्धानबाट दुवै जनामा प्रेम सम्बन्ध रहेको र आफन्तले थाहा पाएपछि उजुरी गरेको खुल्न आएको छ”, पक्राउ परेका किशोर प्रहरी हिरासतमा रहेका छन् भने किशोरी आफन्तसँगै रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
यसअघि गत हप्ता पनि किशोरी बलात्कारको घटना गाउँमै मिलापत्र गराएको आरोपमा सिगास गाउँपालिका–३ का वडाध्यक्षसहित छ जनालाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।
(रासस)