दोलखामा बोलेरो गाडी दुर्घटना हु्ँदा एक जनाको मृत्यु भएको छ।
बिगु गाउँपालिका वडा नम्बर ५ चिलङ्खामा आइतबार बिहान गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
दुर्घटनामा गौरीशङ्कर गाउँपालिका-८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको हो।
बिहान करीब ६ बजे चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा बा २० च ४३७३ नम्बरको गाडी लाइसेप भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गाडीमा सवार चालक तामाङको घटनास्थलमै मृत्यु भएको र बिगु–५ का २२ वर्षीया कमला तामाङ घाइते भएको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए।
गाडी सडकबाट करीब १५० मिटर तल खसेको थियो।
घाइते तामाङको सिंगटी बजारस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको र सामान्यावस्था रहेको प्रहरीले जनाएको छ।
रासस