काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा भूमाफियाले हड्पेको दुई रोपनी तीन आना जग्गामा आकर्षक बगैँचा निर्माण हुने भएको छ।
बुद्धनगर टोल विकास समिति, जनप्रतिनिधि, स्थानीयवासीको सहयोगमा प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले मकै भाँची यूएन पार्कलाई स्वामित्व ग्रहण गर्न दबाब दिएर दुई रोपनी तीन आना जग्गा सरकारी स्वामित्वमा आएको थियो।
सो जग्गामा आइतबार प्रदेशसभा सदस्य श्रेष्ठ, १० नं वडा अध्यक्ष रामकुमार केसीसहित बुद्धनगर टोल विकास समितिका पदाधिकारीले जग्गा संरक्षणका लागि माटो भर्ने काम सुरू गरेका छन्।
माटो भरिसकेपछि आकर्षक बगैँचा निर्माण गरिने छ। बगैँचा निर्माण गर्न प्रदेश पूर्वाधार विकास साझेदारी आयोजनाअन्तर्गत २० लाख रूपैयाँ विनियोजन भएको पनि प्रदेशसभा सदस्य श्रेष्ठले जानकारी दिए।
बगैँचा निर्माणका लागि थप स्रोतको समेत खोजी भइरहेको वडाध्यक्ष केसीले बताए।
प्रदेशसभा क्षेत्रमा भूमाफियाले हड्पेको जग्गालाई सरकारीकरण गरी भूकम्प, आगलागीलगायत प्राकृतिक प्रकोपका बेला आश्रय लिने स्थलका लागि बगैँचा बनाई खुला राख्ने योजनाअनुसार सबै तहका जनप्रतिनिधिबीच सहकार्य गरी काम भइरहेको जनाइएको छ।
(रासस)