नेपालमा एकैदिन ३ सय ९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो।
त्यहीबेला भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गरेका थिए।
बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर नक्शा अनुसार जग्गा अपुग भयो। भरतपुर अस्पतालको नाममा ३० बिघा ११ कट्ठा ६ धुर जमिन छ।
अस्पतालको जग्गा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले ६ बिघा, भरतपुर आँखा अस्पतालले ६ बिघा १७ कट्ठा १० धुर, साझा औषधि पसलले एक कट्ठा १० धुर, रक्तसञ्चार केन्द्रले दुई कट्ठा १० धुर प्रयोग गरिरहेका छन्।
स्वास्थ्य कार्यालयले १० कट्ठा १० धुर प्रयोग गर्दै आएको अस्पतालले जनाएको छ।
अस्पतालले करिब १० बिघामात्रै जमिन उपयोग गर्न पाएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीले बताए।
'अब संरचना बनाउन हामीलाई जग्गा छैन,' उनले भने।
स्वास्थ्यमन्त्री ढकालले शिलान्यास गरेको भवन बोलपत्र प्रक्रियामा छ। अस्पतालको आफ्नो जग्गामा भवन नअट्ने उनले बताए।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सिटिइभिटीको पुरानो संरचना रहेको क्षेत्रमा जग्गा लिएर सो भवन बनाउन गृहकार्य थालिएको बताए।
उनले भने, 'बाँड्दाबाँड्दै जग्गा अभाव भयो।'
अस्पतालको गुरूयोजना अनुसार संरचना निर्माणका लागि अन्य संघसंस्था दिएको तर खाली भएका जग्गा लिनुको विकल्प नभएको उनको भनाइ छ।
शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्न लागि अस्पतालसँग आवश्यक संरचना निर्माण गर्न जग्गा नभएको अधिकारीले बताए।
मदन भण्डारी ट्रमा सेन्टर, बहिरंग भवन, शैक्षिक कार्यक्रम सञ्चालनका लागि भवन र प्रशासनिक भवन निर्माणका लागि अस्पतालसँग जग्गा छैन।
गुरूयोजनाअनुसार संरचना निर्माणका काम भने अघि बढिरहेको छ।
चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामीको उपचार गर्ने संघीय अस्पताल भएकाले जग्गाको अभावमा अस्पतालको विकासमा बाधा नपुग्ने गरी काम अघि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए।
तत्कालीन राप्ती दुन विकास कार्यक्रमअन्तर्गत जग्गा वितरण गर्ने आयोग टोली संयोजक कृष्ण बम मल्लले भरतपुर अस्पतालका लागि झण्डै ३१ बिघा जग्गा छुट्याएका थिए।
अस्पतालले निर्माण गर्न लागेको गुरूयोजनामा जग्गा नाप गर्दा जम्मा २९ बिघा जतिमात्रै जमिन देखिन आएको अस्पतालको अभिलेखमा उल्लेख छ।
रासस