दाङका एक व्यक्तिले हराएको साढे ७ लाख र बाँकेका अर्का व्यक्तिले हराएको ४ लाख नगद फेला पारी प्रहरीले सम्बन्धित व्यक्तिलाई दिएको छ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. ५ धर्नाका ५४ वर्षीय दत्तबहादुर नाथले सोमबार अटो रिक्सा चढेपछि ७ लाख ४० हजार नगद हराएका थिए।
भारतबाट मजदूरी गरी घर फर्किरहेका दत्त नेपालगञ्ज आइसकेपछि पुष्पलाल चोकदेखि कारकाँदो चोकसम्म आउन रिक्सा चढेका थिए। उनले त्यसपछि आत्तिँदै जिल्ला प्रहरी कार्यालय बाँकेको १०० नम्बरमा फोन सम्पर्क गरी घटनाबारे जानकारी दिए।
तुरुन्तै त्यो कुरा जिल्ला प्रहरी प्रमुख एसपी ओम रानालाई रिले भयो। एसपी रानाले तत्कालै जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक ईश्वरदेव गिरीको कमाण्डमा प्रहरी टोलीले खटाए।
गिरी सहितका प्रहरी अधिकारीलाई त्यो भीडमा झोला छुटेको अटोरिक्सा पहिचान गर्न सजिलो हुने कुरै थिएन। जति सोधपुछ गरे पनि पत्ता लागेन। अनि उनीहरूले प्रविधिको सहायता लिए।
प्रहरीले सिसी टिभीको फुटेज निकालेर अनुसन्धान थाल्यो। उक्त अनुसन्धानले दत्तले चढेको अटो रिक्साको पहिचान गर्न प्रहरी सफल भयो। प्रहरीले अनुसन्धानपछि उक्त अटो चालकको फोन नम्बर पत्ता लगायो। प्रहरी अटो चालकलाई खोज्दै घरमै पुग्यो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार सुरूमा अटो चालकले आफूलाई उक्त घटनाबारे थाहा नभएको बताए। तर, प्रहरीले केरकार गरेपछि उनले झोला र पैसा लुकाउने हिम्मत गर्न सकेनन् र प्रहरीलाई दिए।
‘नेपालगञ्ज उपमहागनरपालिकाले जडान गरेका सिसी टिभीले गर्दा अनुसन्धान गर्न सजिलो भयो,’ एसपी रानाले भने, ‘सिसी टिभी नभइदिएको भए अटो रिक्साको पहिचान गर्नै कठिन हुन सक्थ्यो र दत्तको वर्षदिन भारतमा श्रम गरेको सबै पैसा हराउन सक्थ्यो।’
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ का देवराज बर्माले चलाउने भे १ ह ५०१९ नम्बरको अटो रिक्सामा पैसा छुटेको एसपी रानाले बताए।
आशा मारिसकेको रकम प्रहरीले फेला पारेर दिएपछि दत्त निकै खुसी भएको एसपी रानाले बताए।
हप्तादिनको अनुसन्धानपछि ४ लाख फेला
बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ३ की राधिका बिकले मंसिर १० गते झोलासहित नगद ४ लाख हराइन्।
उक्त दिन उनी बेलुका साढे चार बजे दमरा भन्ने ठाउँबाट बानियाभारसम्म जानका लागि बस चढेकी थिइन्। बानियाभार पुगेर बसबाट ओर्लिइन्। उनले आफ्नो झोला र पैसाको ख्याल नै गरिनन्। राधिकाको झोला बसमै छुट्यो।
राधिकालाई आफू चढेको बसको नम्बर पनि याद भएन।
उनले टिकट पनि लिएकी थिइनन्। गाडीका स्टाप पनि चिनेकी थिइनन्। राजमार्गमा बस एकै दिनमा दर्जनौं गुड्छन्।
के गर्ने कसो गर्ने भन्ने भयो। त्यत्रो पैसा हरायो भनेर भन्न पनि सकिनन्। जे त पर्ला भनेर घरि परिवार र आफन्तलाई भनिन्।
सबैले प्रहरीमा निवेदन दिन सुझाए। पैसा हराएकै दिन उनले १०० मा फोन डायल गरी अवगत गराइन्। दोस्रो दिन वडा प्रहरी कार्यालय नेपालगञ्जमा गएर निवेदन दिइन्।
घटना अनुसन्धान गर्न वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोली खटाइयो। त्यो टोलीले पनि प्रविधिको सहयोगमा अनुसन्धान अगाडि बढायो।
प्रहरीले दर्जन बढी सिसी टिभी फुटेज निकालेर हेर्यो। त्यसरी अनुसन्धान गर्दा झन्डै ४/५ दिनको मेहेनतपछि बस पत्ता लागेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले बताए।
‘पैसा सहितको ब्याग हराएको ४/५ दिनपछि प्रहरी पुग्दा गाडीका स्टापले सुरूमा ढाँटेर पैसा लुकाउन खोजे,’ डिएसपी खड्काले थपे, ‘तर, प्रहरीले ती महिला बसबाट झोला नलिई झरेको फुटेज देखाएपछि उनीहरूले ढाँटिरहन सकेनन् र पैसा दिए।’
राधिकाको फेला परेको ४ लाख रकम प्रहरीले उनलाई कार्यालयमा बोलाएर मंसिर १५ गते हस्तान्तरण गरिसकेको डिएसपी खड्काले बताए।