हत्यामा संग्लनता भई फरार रहँदै आएकी एक महिलालाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको दोर्दी गाउँपालिका– ६ बस्ने ३२ वर्षीया पदमी गुरुङलाई सोही वडाको सिमी गाउँमा रहेको माइती घरबाट बुधबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए।
उनका अनुसार विसं २०६४ वैशाख १५ गते बिहान सोही वडामा बस्ने २५ वर्षीय पिचौटी गुरुङ घाँस काट्न जङ्गल गएका बेला पदमीको समूहसँग वादविवाद हुँदा पदमीलेसमेत ढुङ्गा तथा दाउरा प्रहार गरी हत्या गरी फरार रहँदै आएकी थिइन्।
जिल्ला अदालतले उनलाई नौ वर्ष छ महिना २१ दिन कैद सजाय तोकेको छ। सजाय तोकेपछि फरार रहँदै आएकी उनी वैदेशिक रोजगारमा गएको र त्यहाँबाट फर्किएपछि मात्र पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।
फरार महिलालाई बुधबार नै जिल्ला अदालत लगेर जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
(रासस)